झापामा सिटि सफारी चोरी गर्ने गिरोह पक्राउ, १० जना नियन्त्रणमा
झापा । झापाका विभिन्न स्थानबाट सिटि सफारी चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले अनुसन्धानका क्रममा १० जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भद्रपुर, बिर्तामोड र काँकडभिट्टालगायत स्थानमा पार्किङ गरी राखिएका सिटि सफारीहरू विभिन्न मिति र समयमा चोरी भएका थिए । घटनापछि प्रहरीले सीसीटीभी फुटेजको सहायतामा अनुसन्धान गर्दै संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गरेको जनाएको छ ।
चोरी भएका ७ वटा सिटि सफारी, २० वटा ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीको अनुमानित मूल्य २१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा मेचीनगरका रूपक कुमार सरदार उर्फ अभिषेक चौधरी, मोहम्मद सलिम र अभिषेक उराउलाई पक्राउ गरेको छ । यस्तै चोरी भएका सिटि सफारीका ब्याट्री खरिद तथा बिक्रीमा संलग्न रहेको आरोपमा अन्य ७ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
बरामद ब्याट्रीहरू मेचीनगर, चारआली, शनिश्चरे, अर्जुनधारा र बुट्टाबारीस्थित कवाडी पसल तथा डेराबाट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकामाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार घटनासम्बन्धी जिल्ला प्रहरी कार्यालय झापामा तीन वटा, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तीन वटा र इलाका प्रहरी कार्यालय अनारमनीमा एउटा चोरीसम्बन्धी जाहेरी दर्ता भएको छ ।
.jpg)


प्रतिकृया दिनुहोस