• ३० असोज २०८३, शुक्रबार
  • Friday,16 October,2026

बार एसोसिएसनले लालटिन बालेर सांकेतिक विरोध गर्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । सर्वोच्च अदालतमा हाल देखिएको घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक रूपमा लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा हुन लागेको यो विरोध कार्यक्रम अदालतमा रिट तथा मुद्दा दर्ता प्रक्रियामा देखिएको अवरोधप्रति केन्द्रित रहेको बताइएको छ । बारले अदालतभित्र न्यायिक पहुँचमै समस्या देखिएको भन्दै त्यसको विरोध स्वरूप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एसोसिएसनको आइतबार बसेको बैठकले अदालतमा रिट निवेदन दर्ता गर्नसमेत कठिन अवस्था सिर्जना भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको थियो । यही निर्णयअनुसार मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेर विरोध कार्यक्रम गरिने भएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार न्याय खोज्न अदालत पुग्दा नै प्रवेशमै अवरोध हुने अवस्था रहनु चिन्ताजनक भएको हो । उनले प्रश्न गर्दै भने, “यदि अदालतमै मुद्दा दर्ता हुन सक्दैन भने नागरिकले न्याय कहाँबाट पाउने ?”

बारले यसलाई न्याय प्रणालीप्रतिको विश्वाससँग जोडिएको विषय भन्दै शान्तिपूर्ण र सांकेतिक विरोधमार्फत ध्यानाकर्षण गराउने जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑