• ३० असोज २०८३, शुक्रबार
  • Friday,16 October,2026

अवैध रूपमा सञ्चालित कन्सल्टेन्सीमाथि प्रहरीको कारबाही, २५ जनाविरुद्ध मुद्दा दर्ता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले व्यापक अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । अवैध रूपमा कन्सल्टेन्सी सञ्चालन गरिएको तथा विदेश अध्ययनको नाममा ठगी गरेको गुनासो बढेपछि प्रहरीले छापा मारेर अनुसन्धान थालेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले १ जेठमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा रहेका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा एकसाथ अनुगमन गरेको थियो । त्यसक्रममा ६९ जना सञ्चालक तथा प्रतिनिधिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि तीमध्ये ५९ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हालसम्म २५ जनाविरुद्ध मात्रै कानुनी प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीका अनुसार २३ जनामाथि शिक्षा ऐन अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको छ भने दुई जनामाथि लिखतसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । बाँकी ३४ जनालाई भने आवश्यक दर्ता तथा नवीकरण प्रक्रिया पूरा गर्न निर्देशनसहित छाडिएको बताइएको छ ।

प्रहरीले कतिपय कन्सल्टेन्सीहरूले अनुमति बिना भाषा कक्षा, पूर्वतयारी कक्षा तथा वैदेशिक अध्ययनसम्बन्धी परामर्श सेवा सञ्चालन गर्दै आएको पाइएको जनाएको छ । मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा विद्यार्थी तथा अभिभावक ठगिने जोखिम बढेकाले निगरानी कडा पारिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस
↑