एमाले सचिवालय बैठकमा संगठन सुदृढीकरण र निर्वाचन समीक्षामा केन्द्रित छलफल
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र संगठनात्मक अवस्था तथा पछिल्लो निर्वाचनको विस्तृत समीक्षा सुरु गरिएको छ।
शुक्रबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा नेताहरूले आगामी राजनीतिक कार्यदिशा र संगठनलाई अझ सुदृढ बनाउने विषयमा आफ्ना धारणा प्रस्तुत गरेका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले पाँच जना उपाध्यक्षहरूले आफ्नो विचार राखिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार बैठक मुख्य रूपमा पार्टीको वर्तमान अवस्था र निर्वाचनको मूल्यांकनमै केन्द्रित रहेको छ।
उपमहासचिव भट्टले निर्वाचन समीक्षालाई दुई कोणबाट विश्लेषण गरेर अघि बढ्ने तयारी भइरहेको पनि स्पष्ट पार्नुभयो। साथै, आजको बैठकमा कार्यविभाजनको विषय प्रवेश नगरेको उहाँले बताउनुभयो।
सचिवालयका बाँकी १२ जना सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। अर्को बैठक शनिबार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवास गुण्डुमा बस्ने गरी स्थगित गरिएको छ।


प्रतिकृया दिनुहोस