सच्चा एमालेको मन आखिर कहाँ छ ?
—गोपाल ओली
काठमाडौं । राजनीति भाषणले मात्र टिक्दैन । कुराले मात्र पनि टिक्दैन । अरुलाई दोषारोपण गरेर पनि चल्दैन । राजनीति कार्यकर्ताको विश्वासले टिक्छ । गाउँको चिया पसलमा हुने बहसले टिक्छ । खेतबारीमा काम गर्ने किसानले कसको नाम लिन्छ, त्यो कुराले टिक्छ । व्यवसायीको भावनाले टिक्छ । पार्टीको लागि रातदिन खटिने कार्यकर्ताले कसलाई आफ्नो नेता मान्छ, राजनीति अन्ततः त्यतै घुम्छ ।
म धेरै ठाउँ पुग्छु । गाउँ डुल्छु । बजार पुग्छु । मानिसहरूको कुरा सुन्छु । अधिकांशको भनाई छ केपी ओलीमाथि विदेशी लागे । विकासवादी नेतालाई निस्कृय परिदै छ । त्यसको मूल्य एमाले र देशले चुकाउनुपर्छ ।
गाउँका सामान्य कार्यकर्ताले ठूलो राजनीतिक विश्लेषण गर्दैनन् । उनीहरू सरल भाषामा कुरा गर्छन् । ‘यो बाटो कसले बनायो ?’, ‘यो विकास कसको पालामा भयो ?’, ‘देशको पक्षमा कसले बोलेको देखियो ?’ भन्ने हिसाबले राजनीति बुझ्छन् । अनि धेरै ठाउँमा उत्तर एउटै सुनिन्छ— केपी ओली । बास्तमै उनीहरुले जे बुझे त्यो सत्य नै हो ।
कतिपयले उहाँलाई विकासवादी नेता भन्छन् । कतिपयले राष्ट्रियताको अडान लिने नेता भन्छन् । अझ धेरैले ‘दबाबमा नझुक्ने नेता’ भनेर चर्चा गर्छन् । गाउँका धेरै कार्यकर्ताले अहिले पनि एमालेलाई केपी ओलीको नेतृत्वसँग जोडेर हेर्ने गरेको पाइन्छ ।
यता केही समयदेखि एमालेभित्र नेतृत्व परिवर्तनको बहस उठिरहेको छ । सचिवालय बैठकदेखि विभिन्न सार्वजनिक कार्यक्रममा ‘मार्ग प्रशस्त’ भन्ने शब्द धेरै सुनिन थालेको छ । अध्यक्ष ओलीले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज केही नेताहरूले उठाइरहेका छन् । तर गाउँका कार्यकर्ताको प्रश्न फरक छ ।
गाउँमा असली कार्यकर्ताहरु भन्छन्— ‘मार्ग प्रशस्त गर्ने कुरा अध्यक्षलाई मात्र लागू हुने हो र ?’
यदि पार्टीमा नयाँ पुस्तालाई अवसर दिने कुरा हो भने त्यो सबैमा लागू हुनुपर्छ । अध्यक्षले बाटो खोल्नुपर्ने तर अरू नेताहरू पदमा बसिरहने ? यो कुरा धेरै कार्यकर्तालाई स्वाभाविक लागिरहेको छैन ।
राजनीतिमा त्यागको कुरा गर्ने हो भने सबैले उदाहरण देखाउनुपर्छ । आफू पदमै बस्ने अनि अर्कोले मात्र राजीनामा दिनुपर्छ भन्ने कुरा गाउँका कार्यकर्ताले सहज रूपमा स्वीकार गरेको देखिँदैन ।
एमालेभित्र अहिले नेतृत्व परिवर्तनको आवाज उठाउने नेताहरू पनि धेरै छन् । तर प्रश्न के हो भने— कार्यकर्ताको तहमा उनीहरूको प्रभाव कति छ ?
गाउँमा अहिले पनि धेरैले केपी ओली, रामबहादुर थापा बादल र शंकर पोखरेलको नाम सम्मानका साथ लिने गरेको सुनिन्छ । उनीहरूलाई संघर्षबाट आएको नेता भन्ने बुझाइ छ । कठिन समयमा पार्टी जोगाउन उभिएका नेताका रूपमा चर्चा हुने गरेको पाइन्छ ।
विशेषगरी बादललाई ‘सच्चा सिपाही’ भन्ने कार्यकर्ता अझै भेटिन्छन् । शंकर पोखरेललाई संगठन बुझेको नेता भनेर चर्चा गरिन्छ । तर अन्य केही नेताको नाम बैठक र मिडियामा बढी सुनिए पनि गाउँको तहमा त्यति धेरै चर्चा भएको पाइँदैन ।
राजनीतिमा एउटा ठूलो सत्य के हो भने— मिडियाले बनाएको छवि र कार्यकर्ताको मनमा बसेको छवि सधैँ एउटै हुँदैन ।
काठमाडौँका बैठकमा कसैले धेरै बोलेर चर्चामा आउन सक्छ । सामाजिक सञ्जालमा धेरै लेखेर समर्थन पाउन सक्छ । तर चुनावको बेला गाउँमा झण्डा बोकेर हिँड्ने कार्यकर्ता कसको पक्षमा उभिन्छ भन्ने कुरा नै निर्णायक हुन्छ । एमाले जस्तो संगठनात्मक पार्टीमा त्यो झन् महत्वपूर्ण हुन्छ ।
एमालेको शक्ति शीर्ष नेतामा मात्र छैन । एमालेको शक्ति गाउँ–गाउँमा रहेका कार्यकर्तामा छ । ती कार्यकर्ताले जसलाई भरोसा गर्छन्, अन्ततः पार्टी त्यतैतिरै ढल्किन्छ ।
अहिले नेतृत्व परिवर्तनको बहस उठाउनेहरूले एउटा कुरा बुझ्न जरुरी छ— नेता बन्न भाषण काफी हुँदैन । कार्यकर्ताको विश्वास जित्नुपर्छ । संगठनमा दुःख गर्नुपर्छ । संकटमा पार्टीसँग उभिनुपर्छ ।
राजनीतिमा अवसरको कुरा गरेर मात्र नेता बन्न सकिँदैन । इतिहास पनि देखाउनुपर्छ । योगदान पनि देखाउनुपर्छ । कार्यकर्ताले ‘यो नेता अप्ठ्यारो बेला हाम्रो साथमा थियो’ भन्ने अनुभूति गर्नुपर्छ ।
केपी ओलीको आलोचना हुन सक्छ । लोकतन्त्रमा आलोचना स्वाभाविक कुरा हो । उहाँका निर्णयप्रति असहमति राख्नेहरू पनि होलान् । तर एउटा कुरा अस्वीकार गर्न गाह्रो छ— एमालेभित्र अहिले पनि सबैभन्दा धेरै चर्चा हुने नाम केपी ओली नै हुन् ।
पार्टी संकटमा पर्दा कार्यकर्ताले खोज्ने अनुहार धेरै हदसम्म उहाँकै हुन्छ । राष्ट्रिय मुद्दा उठ्दा कार्यकर्ताले सुन्न चाहने आवाज पनि त्यही हुन्छ । चुनाव आउँदा कार्यकर्ताले अघि सार्ने नाम पनि धेरै ठाउँमा त्यही देखिन्छ ।
यसकारण अहिलेको बहस नेतृत्व परिवर्तनको बहस मात्र होइन । यो बहस कार्यकर्ताको मन कसको पक्षमा छ भन्ने विषय पनि हो ।
कतिपय नेताहरूले नेतृत्व परिवर्तनलाई स्वाभाविक प्रक्रिया भनिरहेका छन् । त्यो सही पनि हुन सक्छ । तर परिवर्तनको नाममा कार्यकर्ताको भावनालाई बेवास्ता गर्न मिल्दैन । एमालेजस्तो पार्टीमा कार्यकर्ताको भावना नै सबैभन्दा ठूलो शक्ति हो ।
गाउँका धेरै कार्यकर्ताले अहिले पनि एमालेको भविष्य केपी ओलीसँगै जोडेर हेर्ने गरेका छन् । उनीहरू अझै पनि ‘ओली भएपछि एमाले बलियो हुन्छ’ भन्ने विश्वास व्यक्त गरिरहेका भेटिन्छन् ।
त्यसैले अहिलेको राजनीतिक बहसलाई बैठकको निर्णयबाट मात्र बुझ्न मिल्दैन । वास्तविकता बुझ्न गाउँ जानुपर्छ । कार्यकर्ताको कुरा सुन्नुपर्छ । चिया पसलमा हुने बहस सुन्नुपर्छ ।
त्यहाँ पुग्दा एउटा कुरा अझै स्पष्ट सुनिन्छ— सच्चा एमालेको मन अहिले पनि केपी ओलीतिरै ढल्किएको छ ।


प्रतिकृया दिनुहोस