सदस्यता व्यवस्थापनमा अवरोध भए जिम्मेवारी खोसिने : गगन थापा
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार नचल्ने वा क्रियाशील सदस्यता व्यवस्थापनमा अवरोध गर्ने जो–कोहीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे छ ।
शनिबार बिहान डा. शेखर कोइरालाको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले पार्टीभित्र सदस्यता नवीकरण तथा अद्यावधिक प्रक्रियामा कुनै असहजता नभएको दाबी गर्नुभयाे ।
उहाँका अनुसार यदि कुनै पनि तहबाट सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध सिर्जना गरिएमा सम्बन्धित व्यक्तिलाई जिम्मेवारीबाट हटाइनेछ ।
‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध गर्नुभयो भने पार्टीको विधानअनुसार साथीलाई धन्यवाद भनेर अर्को साथीलाई जिम्मेवारी दिन्छु,’ थापाले भन्नुयभाे , ‘यो प्रक्रिया सुरु भइसकेको छ। क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको उम्मेदवार छनोटदेखि सूचनासम्म सबै अधिकारलाई व्यवस्थित बनाउनु हो।’
थापाले पार्टीका सबै संरचना सहमति र सल्लाहका आधारमा गठन गर्न आफू तयार रहेको पनि बताउनुभयाे । उहाँले नेताहरूको सहभागिता र सन्तुलन मिलाउन कुनै समस्या नरहेको उल्लेख गर्दै सबै पक्षको सुझावअनुसार अघि बढ्न सकिने धारणा राखे ।
फरक प्रसंगमा उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरेको विषयलाई गम्भीर भन्दै तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । आयोगमाथि प्रतिवेदन सच्याउन दबाब दिइएको भन्ने आरोपसमेत उहाँले लगाउनुभएकाे छ ।
‘प्रतिवेदन जानीजानी लुकाइएको छ, यदि यो गलत हो भने तुरुन्त सार्वजनिक गरियोस्,’ थापाले भन्नुभयाे ।


प्रतिकृया दिनुहोस