• ३० असोज २०८३, शुक्रबार
  • Friday,16 October,2026

गगन थापाको चेतावनी: भाद्र २४ को घटना ढाकछोप गर्ने प्रयास अस्वीकार्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २४ गते भएको घटनाको छानबिन नगरी ढाकछोप गर्ने सरकारको प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले आफैं गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताए । उनले भाद्र २४ को विध्वंसबारे न्यायिक छानबिन आयोग गठन गर्न पनि सरकारसँग माग गरे ।

थापाले भाद्र २३ र २४ गतेका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही हुनुपर्ने बताए । उनले उक्त प्रतिवेदन सार्वजनिक हुन नदिन दबाब परेको भन्ने चर्चा प्रति आपत्ति जनाउँदै त्यस्तो कार्य नगर्न चेतावनी दिए ।

यसैबीच, उनले सरकार गठन भएयता कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सन्तुलन कमजोर पार्ने प्रयास भएको आरोप लगाउँदै त्यसलाई स्वीकार गर्न नसकिने धारणा राखे । उनले सरकारका गलत अभ्यास रोक्न आफूहरू निरन्तर आवाज उठाइरहने पनि बताए ।

पार्टीभित्रको विवादबारे बोल्दै थापाले असहमति र मतभेदलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको उल्लेख गर्दै केन्द्रीय समितिबाहिर रहेका सबैलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । तर उनले पार्टीलाई विधान बाहिर गएर सञ्चालन गर्न नहुने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस
↑