उच्चस्तरीय अमेरिकी अधिकारी सारा बी रोजर्सको नेपाल भ्रमण हुने
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयअन्तर्गत सार्वजनिक कूटनीति हेर्ने उपविदेशमन्त्री सारा बी रोजर्स १६ जेठमा तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएकी छन् । वर्तमान सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा नेपाल आउने उनी हालसम्मकै उच्च तहकी अमेरिकी कूटनीतिज्ञ हुने बताइएको छ ।
सरकार गठनपछि नेपालमा लगातार अमेरिकी उच्च अधिकारीहरूको आगमन भइरहेकाले कूटनीतिक वृत्तमा यसलाई विशेष चासोका साथ हेरिएको छ । यसअघि आएका अमेरिकी अधिकारीहरूभन्दा रोजर्स उच्च पदस्थ अधिकारी भएको उल्लेख गरिएको छ ।
परराष्ट्र मन्त्रालयले उनको भ्रमणबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सुरक्षा तथा समन्वयको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर वैशाखमा काठमाडौं आएका थिए । उनले आफ्नो भ्रमणका क्रममा विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू र सरोकारवालासँग भेटघाट गर्दै नेपाल–अमेरिका सम्बन्ध, लगानीको वातावरण तथा आर्थिक सहकार्यका विषयमा छलफल गरेका थिए ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी पक्षले नेपालमा लगानी तथा व्यापार विस्तार गर्ने अवसर खोजिरहेको छ । विशेषगरी डिजिटल पूर्वाधार, कृत्रिम बौद्धिकता र साइबर सुरक्षाजस्ता आधुनिक प्रविधि क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस