• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

इजरायलमा नेपाली केयरगिभरका लागि २३०० रोजगारी खुला, मासिक तलब साढे ३ लाखभन्दा बढी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जनाको माग आएको जनाएको छ । नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार नेपाली श्रमिक छनोट प्रक्रिया सुरु गरिएको विभागले जानकारी दिएको हो ।

विभागले जारी गरेको सूचनाअनुसार कुल मागमध्ये ६० प्रतिशत कोटा महिलाका लागि र ४० प्रतिशत पुरुषका लागि छुट्याइएको छ । छनोट भएका श्रमिकले मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल अर्थात् करिब ३ लाख ४७ हजार रुपैयाँ बराबर पारिश्रमिक पाउनेछन् । साथै ओभरटाइम, बिदा, खाना तथा बसोबास सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।

रोजगारी करार अवधि प्रारम्भिक रूपमा एक वर्षको रहनेछ भने आवश्यकताअनुसार थप गर्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ । आवेदन दिन इच्छुक नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल ४५ किलोग्राम हुनुपर्नेछ भने सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।

आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत सञ्चालन हुनेछ । वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमार्फत फाराम भर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति २०८३ असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको विभागले जनाएको छ ।

आवेदकले अंग्रेजी भाषा दक्षताको प्रमाणपत्र, प्रहरी प्रतिवेदन, स्वास्थ्यसम्बन्धी कागजात तथा स्वघोषणा पत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ । प्रारम्भिक छनोट गोलाप्रथा प्रणालीबाट गरिने र छनोटमा परेका उम्मेदवारको नाम इजरायली पक्षलाई पठाइने व्यवस्था गरिएको छ ।

अन्तिम रूपमा छनोट भएका श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी तथा भाषा परीक्षा शुल्कलगायतका प्रक्रिया पूरा गरेपछि मात्रै इजरायल जान पाउने विभागले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस
↑