• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी संसद्मा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण नदिएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नदिने अडान दोहोर्‍याएको छ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सांसद गुरु बराल ले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो भनाइको आधार र तथ्य प्रस्तुत गर्नुपर्ने वा उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका हुन्।

उनका अनुसार प्रधानमन्त्रीको उपस्थितिको अपेक्षामा प्रतिपक्षी दलले लामो समयसम्म प्रतीक्षा गरे पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि एमालेले आफ्नो पूर्वनिर्धारित अडान कायम राखेको हो। उनले संसद्को कार्यसूची अघि बढाउन गरिएको प्रयासप्रति पनि असन्तुष्टि जनाए।

बरालले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको छविमा असर परेको दाबी गरे। सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको धारणाले विभिन्न किसिमका भ्रम र विवाद उत्पन्न गरेको उनको भनाइ थियो।

एमालेले नेपालको राष्ट्रिय हित र कूटनीतिक प्रतिष्ठासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसद्मा औपचारिक रूपमा धारणा स्पष्ट पार्नुपर्ने माग गरेको छ। प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म संसद्को बैठक सहज रूपमा सञ्चालन हुन नसक्ने एमालेको चेतावनी छ।

हाल प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच विवाद जारी रहेको छ भने उक्त विषय राजनीतिक बहसको केन्द्रमा परेको छ।

प्रतिकृया दिनुहोस
↑