नदी मिच्ने होड र विकासको नाममा निम्तिएको विनाशः भोटेकोशीले सिकाएको पाठ
-लक्ष्मण घिमिरे
प्राकृतिक स्रोत र नदी–नालाको आफ्नै नियम र बहाव क्षेत्र हुन्छ। भौगोलिक रूपमा हेर्ने हो भने भोटेकोशी नदी पहाडको अत्यन्तै भिरालो सतह र गहिरो खोँचमा बग्ने गर्दछ। यस्ता पहाडी नदीहरूको चरित्र नै यस्तो हुन्छ—जब वर्षायाममा यिनीहरूमा बाढी आउँछ, तब नदीले आफ्नो परापूर्वकालदेखिको प्राकृतिक भाग (बहाव क्षेत्र) खोज्न थाल्छ। अनि जब नदीले आफ्नो वास्तविक भाग र निकास खोज्छ, उसले नदी किनार र तटीय क्षेत्र वरपर नै आफ्नो बाटो रोज्छ।
यो अकाट्य प्राकृतिक तथ्यलाई मनन गर्नुको साटो मानिसले खोलाको त्यही प्राकृतिक बहाव क्षेत्रलाई नै आफ्नो कब्जामा लियो। रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेंसी, हाँकुबेंसी, मैलुङ, सल्लेटार, पैरेबेंसी, खाल्टे, नौबिसे र कैदेलीटार हुँदै जब खोला बेत्रावतीसम्म आइपुग्छ, तबसम्म हामीले यो नदीलाई कतै पनि निर्वाध रूपमा बग्ने ठाउँ नै छाडेका थिएनौँ। नदीको सम्पूर्ण लम्बाइभरि मानव विकास र समृद्धिको नाममा कतै हाइड्रोपावरका बाँध, कतै कंक्रिटका भवन, कतै मानव बस्तीका विकसित बहुतले घर, पसल र होटल त कतै नदीकै मुटुमा क्रसर उद्योगसमेत चलाउन भ्याएका थियौँ।
नदी किनारमा उद्योग र पशुपालन फार्महरूसमेत सञ्चालन गरेर खोलाको बहाव क्षेत्रलाई दिनानुदिन खुम्च्याइयो। नदीको साँघुरो गल्छीमा मानिसले ठड्याएका भीमकाय सिमेन्ट र कंक्रिटका संरचनाहरूले पानीको बाटोमा ठूलो अवरोध सिर्जना गरे। तर, प्रकृति र पानीको वेगलाई सधैँ थुनेर राख्न सम्भव हुँदैन। ती भीमकाय कंक्रिटका अवरोधहरूलाई पन्छाउनका लागि खोलाले आफ्नो भित्री शक्ति र सामर्थ्य बढाउनुपर्ने भयो। बाढीको पानीले ती भौतिक तगाराहरूलाई भत्काउन जुन विशाल ऊर्जा, शक्ति र सामर्थ्य सिर्जना गर्यो, त्यसैबाट उठेको भयानक छाल र तीव्र बहावले नै आज यस करिडोरमा यो स्तरको अभूतपूर्व विनाश निम्त्याएको हो। दशकौँदेखि नदीलाई यसरी हेपेको मानव सभ्यतालाई गत भदौ १० गते नदीले नराम्रोसँग हेपिदिएको मात्रै हो। हामीले नदीमाथि गरेको निरन्तरको थिचोमिचो र जबरजस्तीको हिसाब प्रकृतिले एकै दिनमा चुक्ता गरिदिएको छ।
टिमुरे र स्याफ्रुबेंसीमा अभूतपूर्व क्षति
बाढीले रसुवाको सीमावर्ती टिमुरे क्षेत्रलाई बगरमा परिणत गरिदिएको छ। प्राप्त विवरणअनुसार, टिमुरे बजारका अधिकांश घर, पसल, होटल, अध्यागमन कार्यालय र सुरक्षा पोष्टसहित २५० भन्दा बढी भौतिक संरचनाहरू बाढीले पूर्ण रूपमा बगाएको छ। यो केवल एउटा बन्दै गरेको आधुनिक बजारको क्षति मात्र होइन, नेपाल–चीन व्यापारको एउटा मुख्य लाइफलाइन नै ध्वस्त भएको अवस्था हो। राज्यको राजस्वको निकै ठूलो आधारसमेत गुमेको पीडादायी अवस्था हो।
व्यापारिक हिसाबले देशकै महत्त्वपूर्ण मानिने टिमुरे भन्सार यार्ड र आसपासको क्षेत्रमा पार्किङ गरिएका ३०० भन्दा बढी गाडी तथा मालवाहक कन्टेनरहरू बाढीको चपेटामा परेका छन्। यसमा चीनबाट आयात गरिएका महँगा नयाँ विद्युतीय सवारीसाधन (EV) र करोडौँका सामान लोड गरिएका कन्टेनरहरू थिए, जुन क्षणभरमै बगेर नष्ट भए।
यति मात्र होइन, स्याफ्रुबेंसी बजार र बसपार्क क्षेत्रमा पार्किङ गरिएका यात्रुवाहक बस, जिप र ट्रकहरू आँखाअगाडि नै बगेको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन्। यातायात महासंघका अनुसार, समग्र भोटेकोशी करिडोरमा मात्रै १९१ भन्दा बढी सवारीसाधनमा क्षति पुगेको वा बगेको छ। ऐतिहासिक नेपाल–चीन जोड्ने मितेरी पुल (Friendship Bridge) समेत, दर्जनौँ पक्की पुलहरू, रसुवागढी हाइड्रोपावरको बाँध, ईभी चार्जिङ स्टेसन र स्याफ्रुबेंसीस्थित श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयसहित दर्जनौँ विद्यालयका संरचना बाढीले बगाउनुले क्षतिको भयावह रूपलाई छर्लङ्ग पार्छ।
खोला रोक्दा निम्तिएको ‘सुनामी’
जब नदीले आफ्नो परापूर्वकालदेखिको बाटो पाउँदैन र मानव–निर्मित कंक्रिटसँग जुध्नुपर्ने हुन्छ, तब त्यो लेदो, ढुङ्गा र माटोसहित ‘सुनामी’को रूप लिएर बजार र बस्तीमा पस्छ। रसुवागढीदेखि बेत्रावतीसम्मका दर्जनौँ घर र पसलहरू लेदो र माटोले पुरिनु तथा भौतिक संरचनाहरू नामोनिसान नहुने गरी बगाउनु यसैको परिणाम हो। नदीलाई थुनेर, मिचेर र जिस्क्याएर गरिएको विकास अन्ततः आफ्नै लागि विनाशको एम्बुस बन्ने रहेछ भन्ने कुरा भोटेकोशी करिडोरले पुष्टि गरिदिएको छ।
अबको बाटोः प्रकृतिमैत्री विकास
टिमुरे र स्याफ्रुबेंसीको यो तबाहीले नेपालको समग्र पूर्वाधार विकासको मोडलमाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) लाई केवल कानुनी औपचारिकतामा मात्र सीमित राखेर नदीकै सतहमा अबौँका संरचना, बजार र उद्योग खोल्नु कतिसम्म प्रत्युत्पादक हुन्छ भन्ने कुरा अब प्रमाणित भइसकेको छ।
अझै पनि चेत नखुल्ने र नदी किनारका संवेदनशील क्षेत्र (High-Risk Zones) मा जथाभावी निर्माण कार्य रोक्ने ठोस नीति नबनाउने हो भने आगामी दिनमा यस्ता क्षतिहरू अझै भयानक हुनेछन्। विकासका योजनाहरू बनाउँदा इन्जिनियरिङ डिजाइनसँगै नदीको प्राकृतिक अधिकार र भूगोलको संवेदनशीलतालाई अनिवार्य रूपमा सम्मान गरिनुपर्छ। भदौ १० को बाढीले दिएको यो गम्भीर चेतावनीलाई आत्मसात् गर्दै भविष्यमा सुरक्षित र प्रकृतिमैत्री पुनर्निर्माणतर्फ लाग्नु नै आजको मुख्य आवश्यकता हो।
लेखक बाढी अति प्रभावित उत्तरगया गाउँपालिका–५, रसुवाका बासिन्दा हुन्।
लोकप्रिय
सम्बन्धित खवर
-
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा परिवारको जिम्मा लगाइए
-
नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा हुने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी अध्ययन–आदानप्रदानका लागि हाईनान प्रस्थान
-
नदी मिच्ने होड र विकासको नाममा निम्तिएको विनाशः भोटेकोशीले सिकाएको पाठ


प्रतिकृया दिनुहोस