अन्तिम अवस्थामा अस्पताल आउँनाले ज्यान गुमाउने बढे
गलकोट । जिल्लामा अधिकांश कोभिड संक्रमित होम आइसोलेसनमा छन् ।
धेरै लक्षणविहिन भएपनि केही संक्रमित लक्षणसहितका छन् । कोभिडको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्र्पकमा नआउँदा बागलुङमा कोभिडबाट ज्यान गुमाउन थालेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेका अनुसार बागलुङमा शुक्रबार मात्रै तीन संक्रमितको ज्यान गएको छ । उनीहरु अन्तिममा मात्रै अस्पतालमा आएका कारण ज्यान गएको हो । बागलुङमा अहिले सम्म काेभिडबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ भने सक्रिय संक्रमित नाै सय ६५ पुगेका छन् ।
कोभिडको गम्भिर लक्षण देखिदा समेत संक्रमित घरमै बस्नु, अक्सिजनको लेबलका विषयमा जानकार नहुनु र जटल स्वास्थ्य समस्या मात्रै लिएर अस्पताल आउनेहरुको बढी ज्यान गएको देव घिमिरेले बताउनुभयो । 'अक्सिजन लेवलको विषयमा जानकारी नराख्ने, लक्षण देखिदा समेत घरमै बस्ने, एक्कासी बेहोस भई ढल्दा अथवा श्वासप्रस्वासमा समस्या आएपछि मात्रै अस्पताल आउँदा समस्या भएको छ', घिमिरेले भन्नुभयो 'अक्सिजन लेबल घट्नासाथ अस्पताल आउनेको उपचारपछि निको भएपनि अन्तिम अवस्थामा अस्पताल आउँदा ज्यान गुमाउने संभावना बढी देखियो ।'
प्रत्येक संक्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा सम्लग्न धौलागिरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो । 'केही बिरामीमा निकै कडा लक्षण देखिन्छ जसकाकारण उसको निमोनिया समेत घटाउन कठिन हुन्छ', पोखरेलले भन्नुभयो, 'केहीले अझै कोरोना लुकाउनुभएको छ त्यसकारण भित्रभित्र उहाँको अवस्था गम्भिर बन्दै गएपछि अस्पताल आउनुभएको छ, केही शुरुमै अस्पताल आएपनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोग समेत भएका कारण ज्यान गएको पाइएको छ । '
पोखरेलका अनुसार संक्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्र्पकमा रहने, शारीरिक व्यायाम गर्ने तथा श्वास्प्रस्वासको विषयमा जानकारी लिने, स्वस्थ्यकर्मीकै सल्लाहमा अस्पताल आउँदा सहज हुँनेछ । घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्सिजन परीक्षण नगर्नु तथा एक्कासी समस्या भएपछि मात्रै स्वास्थ्यकर्मीसँगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ ।
शुक्रबार दुईको धौलागिरी अस्पताल र एकको ढोरपाटन कोभिड अस्पातलमा उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालले जनाएको छ । यस्तै जिल्लाको ढोरपाटन नगरपालिकाको कोरोना अस्पतालमा ढोरपाटन नगरपालिका–५ निवासी ६५ वर्षको पुरुषको ज्यान गएको हो । बिहीबार बडिगाडमा कोरोना शंकास्पद पुरुषको समेत अस्पताल आउनासाथ ज्यान गएको थियो ।
बागलुङमा एक साता निषेधाज्ञा थप
बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ ।
शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा कोभिड संक्रमितको दर बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा भएको हो ।
संक्रमणको दरमा कमी नआएपछि जेठ एक गतेदेखि १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।
- रासस


प्रतिकृया दिनुहोस