• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

एमालेको टार्गेट २०८४, तीनवटै तहमा बहुमत सदस्यसहित विजय लक्ष्य : कैलाश ढुङ्गेल 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । कैलाशप्रसाद ढुङ्गेल नेकपा एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । नेकपा एमाले रामेछापको जिल्ला इञ्चार्जको जिम्मेवारी पूरा गरिसक्नु भएका ढुङ्गेल नेकपा एमालेको मिसन ग्रासरुट अभियानमा धादिङ जिल्लामा खटिनु भएको थियो । पार्टीले अहिले उहाँलाई भक्तपुर जिल्ला इञ्चार्ज बनाएर खटाएको छ । 

नेकपा एमालेले भूमिगत कालमा नेताहरूलाई कामको लागि अन्तर जिल्ला खटाउने गर्दथ्यो । तर पार्टी खुल्ला राजनीतिमा आएपछि पहिलो पटक एमालेले केन्द्रीय नेताहरूलाई पार्टीको काममा अन्तर जिल्ला खटाएको छ । ग्रामीण भेगमा संगठन निर्माणको लामो अनुभव समेट्नु भएका अनुभवी नेता ढुङ्गेल काठमाडौं उपत्यका भित्रको भक्तपुर सहरमा संगठन निर्माण र सुदृढीकरणको काममा जुट्नु भएको छ । पार्टी संगठन निर्माण र समसामयिक विषयमा ढुङ्गेलले सनराइज खबरसँग कुरा गर्नुभएको छ । प्रस्तुत छ उहाँसँगको यो कुराकानी : 

पार्टीले केन्द्रीय नेताहरूलाई अन्तर जिल्लामा पार्टी संगठनको नेतृत्व गर्न खटाएको छ । पार्टीले यस्तो निर्णय किन गर्‍यो ? 

पार्टीको पाँचौँ पूर्ण केन्द्रीय कमिटीको बैठकले पार्टीको भूगोलमा रहेका इञ्चार्जहरुलाई साबिकको ठाउँबाट अर्को ठाउँमा जिम्मेवारी दिएको छ । यस अघि पार्टीले ग्रासरुट अभियान सञ्चालन गर्‍यो । ग्रासरुटमा स्थानीय चुनाव र प्रदेश तथा संघको चुनावको समीक्षा गर्नुपर्ने थियो । दोस्रो जिल्ला भित्रको आन्तरिक अन्तर्विरोध कस्तो छ भन्ने हेर्ने र समाधान गर्ने थियो । तेस्रो पार्टी सदस्यता रिनो गर्नुपर्ने थियो । 

पार्टी सदस्यता रिनो अघि पछि पनि हुन्छ तर यसलाई अभियानकै रूपमा चलाउने कार्यक्रम मिसन ग्रासरुटको थियो । त्यसलाई व्यवस्थित गर्नुपर्ने थियो । 

अर्को पार्टी कमिटीहरू ठुला भए, भद्दा भए, चलाउन गाह्रो भयो भन्ने थियो । पार्टीले स्थानीय अन्तर्विरोध, निर्वाचनको समीक्षा, संगठन परिचालन लगायतलाई व्यवस्थित गर्न एउटा ट्रायल गरी हेरौँ न त भनेर यो प्रयोग गरिएको हो । एक वर्ष अन्तर जिल्लामा रहेर नेताहरूले काम गर्नुहुन्छ । एक वर्ष पछि नेताहरू साबिककै ठाउँमा फर्कनुहुन्छ । 

यसले नयाँपन के दिन्छ भने, इञ्चार्ज जुन अर्को जिल्लाबाट जान्छ उसलाई त्यो जिल्लाको पार्टी जीवन बाहेक अरू कुरामा इन्ट्रेष्ट हुँदैन । निर्वाचनको इन्ट्रेष्ट हुँदैन, पक्ष विपक्ष हुँदैन, निष्पक्ष भएर काम गर्छ, अन्तर्विरोधलाई हल गर्न सहज हुन्छ भन्ने खालेको आस पार्टीले गरेको छ । यही हिसाबले अघि बढ्छ । 

पार्टी सदस्यता नवीकरणको लागि मिसन ग्रासरुट नै चल्यो, तर अपेक्षित रूपमा सदस्यता नवीकरण र नयाँ सदस्य थपिएनन् भन्ने चर्चा पनि छ नि, यथार्थ के हो ? 

विरोधीले अनावश्यक प्रचार गरेका हुन् । हाम्रो पार्टीमा सदस्यता नवीकरण बढेको छ । युवाको आकर्षण पनि बढेको छ । 

सदस्यता रिनोमा समस्या छैन । नेकपा एउटै हुँदाको सदस्य सङ्ख्या हेर्दा केही कम देखिन्छ । कतिपय सदस्यको मृत्यु भयो । कतिपय बसाइँ सर्नुभयो । कतिपयको दोहोरो परेको थियो । अहिले त्यो सबैलाई व्यवस्थित गर्ने काम भएको छ । नयाँ सदस्यताको लागि पनि त्यतिकै आवेदन छन् । राजनीतिक हिसाबले हेर्दा यो बिलकुल घटेको छैन । अझ बढेको छ । 

सहर र गाउँमा पार्टी संगठनलाई हेर्दा के भिन्नता पाउनुभयो ? 

सारभूत रूपमा हेर्दा जहाँ गए पनि एमालेमा केही फरक छैन । विचार एउटै हो, सिद्धान्त एउटै हो । पाटी जनताको बहुदलीय जनवादको आलोकमा अघि बढेको छ । 

पार्टी भित्र बहुविचार छैन, सिङ्गल विचार छ । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको सूत्रमा सूत्रबद्ध भएर पार्टी अगाडि बढेको छ । एमालेमा कुनै समस्या छैन, विचारमा एकरूपता छ, संगठन परिचालनमा एकरूपता छ, संगठनको जिम्मेवारीमा एकरूपता छ, यहाँ समस्या छैन । 

पार्टीमा लागियो, मैले के पाउने भन्ने अलिकति नयाँ पुस्तामा देखिएको छ । युवामा अलि हतारो देखिनु स्वाभाविक पनि हो । यसलाई व्यवस्थापन गर्न पार्टी लाग्नु पर्छ । 

पार्टी नयाँ र पुरानो हुन्न । पार्टी सधैँ भरि देश र जनताको लागि समय सान्दर्भिक काम गरिरहने अविच्छिन्न संंस्था हो । २००६ सालमा नेकपा जन्मियो । २००६ सालको आर्थिक सामाजिक व्यवस्था अहिले छैन । 

पार्टीले समय, सन्दर्भ, व्यवस्था र अवस्था अनुसार आफूलाई परिमार्जित र परिवर्तित गर्दै लैजानु पर्छ । नेकपा एमालेले त्यो गर्दै आएको छ । 

त्यो बेलामा हाम्रो पार्टीले उठाएका एजेण्डा अहिले छँदा पनि छैनन् । त्यसैले पुराना पार्टीले पुरानै एजेण्डा उठाउँछन् भन्ने कुरा उत्ताउला र उरन्ठेउलाले एमाले विरुद्ध गर्ने प्रचार मात्र हो । 

एमालेमा युवाका आकर्षण छैन भन्ने कुरा पनि गलत हो । जिम्मेवारीको हिसाबले होस् वा सदस्यताको हिसाबले एमालेमा युवाको ठुला आकर्षण छ । त्यो हाम्रो तथ्याङ्कले देखाउँछ । व्यवहारले देखाउँछ । ४० वर्ष भित्रका युवालाई प्राथमिकतामा राखेर पार्टीले जिम्मेवारीमा राखेको छ । भोलि पनि राख्छौँ । 

हाम्रो टार्गेट विसं २०८४ को टार्गेट हो । एमालेको २०८४ को टार्गेट तीनवटै तहमा बहुमत सदस्य सहित विजय लक्ष हो । क्रियाशीलताको हिसाबले हामी आफ्नो पार्टीमा राम्रै ढङ्गले लागेका छौँ । यद्यपि हामी घेराउमा छौँ । यो कुरा हामीले बिर्सनु हुँदैन । 

अहिले एउटा राष्ट्रवादी, अनुशासित र लोकतान्त्रिक शक्तिलाई एकैचोटी कमजोर बनाउन सकियो भने फेरी त्यही अवस्थामा ल्याउन ५० वर्ष मेहनत गर्नुपर्छ भन्ने कुरा प्रतिक्रान्तिकारीहरुले बुझेका छन् । एमाले दक्षिण एसियामा नै एउटा सशक्त, अनुशासित र लोकतान्त्रिक पार्टी भनेर चिनिएको छ । यसलाई कमजोर नबनाई अरूको सपना पूरा हुन सक्दैन भन्ने कुरा राम्रोसँग बुझेका छन् । त्यसैले विदेशीले मिल्दै नमिल्ने लौराको बिटो बनाएर एमालेलाई चुट्ने काम गरेका छन् । २०८४ मा पनि उनीहरू एमालेको विरुद्ध मिलेरै आउन सक्छन् । एक्लै आउन सक्दैनन् । जो जोसँग मिलेर आए पनि २०८४ मा चाहिँ हामीले पछार्नुपर्छ भन्ने अभियानका साथ हामी लागेका छौँ । 

भक्तपुरमा चाहिँ पार्टीमा युवाको आकर्षण कस्तो छ ? 

तुलनात्मक रूपमा मैले काम गरेको रामेछाप र धादिङ भन्दा भक्तपुरको पार्टीमा युवाको आकर्षण धेरै छ । भक्तपुर धेरै जिल्लाबाट बसाइँ सरेर आएका मानिसहरूको मिश्रित बस्ती पनि हो । संगठनको हिसाबले पनि जिल्लाको केन्द्रबाट एक घण्टामा सबै वडामा पुग्न सकिन्छ । त्यसैले संगठन गर्न पनि सजिलो छ । त्यहाँको पार्टी अध्यक्ष नै युवा हुनहुन्छ । हुन त रामेछापमा पनि पार्टी अध्यक्षदेखि पदाधिकारीहरू सबै युवा हुनुहुन्छ । धेरै जिल्लामा पार्टीको नेतृत्व युवाको छ । क्रियाशीलता सबैको छ । त्यसैले पार्टीमा युवाको आकर्षण कस्तो छ भन्ने कुरै आउँदैन । 

क्रियाशीलताको कुरा गर्दा हाम्रो पार्टी अध्यक्ष उमेरले ७० वर्षको हुनुभयो । तर उहाँको क्रियाशीलता कुनै ३० वर्षे युवाको भन्दा कम छैन । त्यसैले सहभागिता र क्रियाशीलताको हिसाबले एमालेले हजुरबादेखि नाति पुस्तासम्मको सहभागिता छ र क्रियाशीलता पनि छ । 

एमालेका चुनौती चाहिँ के हुन् त अहिलेका ? 

सबैभन्दा पार्टी संगठनलाई बलियो बनाउने कुरा नै चुनौती हो । अहिले आफूलाई नयाँ भन्ने झिल्के मिल्के आएर एउटा नाटक देखाउँछन् । धेरै मान्छे त्यो नाटक हेर्न जान्छन् । यसले के के न गर्‍यो भनेर मानिसलाई भ्रम पर्छ । त्यो भ्रम एमालेले चिर्न सक्नु पर्छ । 

अहिले नयाँ भनिएकासँग कहाँ पुग्ने हो भन्ने कुनै दृष्टिकोण छैन । सिद्धान्त छैन, आदर्श छैन, के गर्ने छैन । के त भन्दा, कहिले भ्रष्टाचार विरोधी भनिदिने, कहिले चोर पक्डिने भन्ने । त्यस पछि के गर्ने भन्दा केही पनि छैन । 

हामी समाजवादमा पुग्ने स्पष्ट दृष्टिकोण साथ अघि बढेका छौँ । उत्ताउलो नयाँ कुरा गरेर केही समय त मानिलाई ढाँट्न सकिएला । तर सधैँ सकिँदैन । 

नेपालमा भन्नुस् वा रामेछापमा आधुनिक विकासको सुरुवात गर्ने कुन पार्टी हो ? रामेछाप वा नेपाललाई नयाँ बनाउन कसले र कुन पार्टीले भूमिका खेल्यो ? कंग्रेसले गर्‍यो कि ? माओवादीले गर्‍यो कि ? राप्रपाले गर्‍यो कि ? अहिले नयाँ भनिएकाहरूले गरे कि ? कसले गर्‍यो ? 

रामेछापमा कालोपत्रेको सुरुवात गर्ने हाम्रो पार्टीको नेता म नै छु रामेछापमा । पहिला एकसरो झोलुङ्गे पुले बनाउने कुरा भयो । त्यति बेला म जिविस सभापति भएँ २०५४ सालमा  । २०५८ सालमा आइपुग्दा हामीले ५२ वटा झोलुङ्गे पुल बनायौँ । अहिले पक्की पुलको अवधारणा पनि हामीले नै ल्यायौँ । 

म वाग्मती प्रदेशको अर्थ मन्त्री हुँदा आठ वटा पक्की पुलका बहु वर्षीय योजना सञ्चालन भए । कालोपत्रे, बिजुली बत्तीको प्रारम्भ गरेर सबै घरमा बिजुली पुर्‍याउने काम हामीले नै गर्‍यौँ । खानेपानीको समस्या समाधानको लागि हामीले लिफ्ट खानेपानी सञ्चालन गरेर घर घरमा धारो पुर्‍याएका छौँ । पानीमा, सडकमा, विद्युतमा, स्कुलमा, कलेजमा, प्राविधिक शिक्षामा, अस्पतालमा, कवर्डहलमा, चिस्यान केन्द्रमा, हरेक क्षेत्रमा रामेछापमा आधुनिक रामेछाप बनाउन नेकपा एमालेको प्याटेन्ट राइट छ । उसले मात्र गरेको छ यहाँ । 

अन्य जिल्लामा पनि यसै गरी एमालेले काम गरेको छ । यस विषयमा जोसँग पनि बहस गर्न सकिन्छ । हामीले एउटा युगको अन्त्य गरेका छौँ । ढाकरमा नुन बोकेर, उकालो ओरालो गर्ने बाबु आमालाई टाउकोबाट नाम्लोमुक्त गराएको छ नेकपा एमालेले । डोकामा नुन बोक्नु पर्दैन अब, हरेक घरमा नुनु पुग्छ । 

सडकमा हेर्नुस्, त्यहाँ एमाले देखिन्छ । अस्पतालमा हेर्नुस्, त्यहाँ एमाले देखिन्छ । खानेपानी हेर्नुस्, एमाले देखिन्छ । पुलमा हेर्नुस्, एमाले देखिन्छ । स्कुलमा हेर्नुस्, एमाले देखिन्छ । कलेजमा हेर्नुस्, एमाले देखिन्छ । हरेक ठाउँमा एमाले देखिन्छ । 

कसैले भन्छन् गोजीको होइन, सरकारको पैसा हालेको हो । हो सरकारकै हालेको हो । हिजो एमाले सरकारमा हुँदा हाल्यो । आज एमाले सरकामा छैन । अरूको पनि सरकार त छ, पैसा छ, बजेट छ । किन  पैसा नहालेको ? 

विकास गर्न एमाले नै जानु पर्छ सरकारमा भन्ने त दुनियाँले बुझी सके । अहिले किन विकासमा बजेट आउँदैन भने ती पार्टीहरूको प्राथमिकतामा विकास पर्दै पर्दैन । 

हाम्रो चुनौती भनेकै गठबन्धनले गरेका अपराधपूर्ण कामलाई चिर्दै जनतालाई सुसूचित गर्ने हो । पार्टीहरू प्रतिको भ्रम चिर्ने र नयाँ नौटङ्कीहरुले लगाएको जामा उतार्दिने हो । सारा साम्राज्यवादीको सहयोगमा बनेको गठबन्धनलाई तोडेर २०८४ को निर्वाचनमा बहुमत सहित निर्वाचित हुने कुरामा सानो चुनौती छैन । हामी त्यो सबैलाई चिर्छौँ भनेर लागेका छौँ । 

पुराना दल सबै भ्रष्ट हुन् भनेर नयाँले भन्छन् नि त फेरी । त्यसमा एमालेको धारणा के हो ? 

भ्रष्टाचार हिजो पनि थियो । आज पनि छ । त्यसको निष्पक्ष छानबिन गरे भइहाल्यो नि । भ्रष्टाचार गर्नेलाई जेल हाल्नु पर्छ भनेर हामीले भनेका छौँ । गर्ने गर्ने तर बिचमा एउटा आफ्नो मान्छे आएपछि अड्किनु त भएन नि त । एमाले पर्छ भने एमालेलाई पारे भयो । अरू पर्छन् भने तिनलाई पनि छाड्नु भएन । किन रोकेको त ? 

ललिता निवास प्रकरणमा केपी ओलीले त्रिताल आयोग बनाएर छानबिन सुरु गर्नुभयो । अनि केपी ओलीलाई नै दोष लगाउने । ह्वाइटबडी काण्ड कांग्रेसकै पालमा सम्झौता भयो । पैसा त्यसले तिर्‍यो । सम्झौता अनुसार बाँकी रहेको अन्तिम किस्ता तिर्ने रवीन्द्र अधिकारीलाई दोषी भनिँदै छ । अन्तिम किस्ता तिर्नेलाई दोष लगाउने कि सम्झौता गर्ने र पहिला रकम दिने दोषी हुने हो । बहस गरौँ न । 

ओम्नीको कुरा, औषधी लिन भानुभक्त ढकाल स्वास्थ्य मन्त्री भएको बेलो चीनमा नेपालको जहाज पुग्यो । नेपाले ल्याउने भनेको औषधी अमेरिकाले लगेछ । जहाज गयो, औषधी छैन । रित्तै नफर्कने भनेर अर्को औषधी ल्यायो । त्यो कम्पनीलाई नेपाल सरकारले आजसम्म एक पैसा पनि तिरेको रहेनछ । पैसा नै नतिरेको औषधिमा के गरी मन्त्रीले पैसा खायो ? 

यसरी एमाले प्रति अनावश्यक रूपमा लाठी चार्ज गरिएको छ । त्यसमा सत्यता छ भने अनुसन्धान गर्नु, एमालेका नेता को को दोषी छन्, थुन्नु । कानुन पुगे सबैलाई थुन्नु । आफैँ सरकारमा बस्ने, थुन्न नसक्ने अनि खिच्चा कुरा गर्ने ? 

देख्नु भएन पशुपतिको १० केजी सुन केपी ओलीले खानुभयो भने । पित्तल हालिदिए छ भने । फेरी जाँचबुझ गर न त भन्दा सुन नै रहेछ । भनेको जति नै रहे छ भनेर आफूले भने । यस्तो खालको कृत्रिम कुरा गरेर कति दिन राजनीति चल्छ ? यस्ता कुरामा केही सत्यता छैन । 

नयाँ पार्टीले जाँच दिन नै बाँकी छ । हिजो के भनेर आएको थियो । आज के गर्दै छ । उसले त जाँच दिन नै बाँकी छ । २०८४ को निर्वाचनमा जाँच दिन्छ । पास फेल त्यहीँ छुट्टिन्छ । एमाले हात्तीरूपी गन्तव्य गर्छ । को को आउँछन् । को को कराउँछन् । एमालेले केही वास्ता गर्दैन । एमाले अघि बढिरहन्छ । 

 

प्रतिकृया दिनुहोस
↑