दुर्गा प्रसाईंको बेइमानीको कथा भन्ने यो महंगो गाडी (भिडियाे)
काठमाडौं । गाडी नम्बर १०१ फेरि केपी शर्मा ओलीको साथमा पुगेको छ । टोयोटा कम्पनीको यो ल्याण्डक्रुजर भी ऐट गाडी विगतमा नेकपा एमालेका अध्यक्ष ओलीले मात्र नभएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चढ्ने गर्नुभएको थियो ।
भिडियाे:
पाँच करोड रुपैयाँ हाराहारी पर्ने यो गाडी थियो पहिले दुर्गा प्रसाईंको । अब केही दिन अध्यक्ष ओलीले यो गाडी चढ्नुहुनेछ ।
गाडीको अन्तर्कथा
दुर्गाले धेरै नेतालाई यो गाडीमा चढाउनुभएको छ । नेताहरुलाई चढाउनकै लागि दुर्गाले यो गाडी किनेको बताइन्छ । नेताहरु कुनै ठाउँ पुग्दैछन्, विमानस्थल पुग्दैछन् भन्ने थाहा पाउनासाथ यो गाडी लिएर दुर्गा पुगिहाल्नुहुन्थ्यो । जसरी पनि नेताहरुलाई गाडी चढाउनुहुन्थ्यो ।
नेताहरुसँग सम्बन्ध देखाएर धन्दा चलाउने काममा दुर्गाले यो मोटरको धेरै नै उपयोग गर्नुभएको थियो । तर, यो प्यारो मोटर दुर्गाले गुमाउनुपर्यो ।
एमालेको युवा संघका नेता अमित लामासँग दुर्गाले साझेदारीमा केही काम गर्नुभएको थियो । करोड घटीको ऋण नै होइन, करोड माथिको तिर्ने नै होइन भन्ने दुर्गाले अमित लामासँग पनि बेइमानी गर्नुभयो ।
केही करोड रुपैयाँ दुर्गाले खाएपछि दुर्गाले अमित लामासँग सम्बन्ध विच्छेद गर्नुभयो, फोन उठाउन पनि छाड्नुभयो ।
अमितलाई दुर्गाले अदालतमा मुद्दा हाल्नु, दसबीस वर्षपछि तिर्छु भन्न थाल्नुभयो ।
अमितको जुक्ती
दुर्गा प्रसाईंले केही करोड रुपैयाँ खाइदिएपछि अमित लामाले फकाइफुलाई गरेर फिर्ता लिन प्रयास गर्नुभयो । तर, दुर्गा प्रसाईंले ऋण तिर्नु र कुकुरले सापटी लगेको मासु फिर्ता दिनु एउटै हो भन्ने अमितले बुझ्नुभयो । त्यसपछि लगाएको जुक्तिले अमितको हातमा दुर्गाको गाडी आयो ।
दुर्गा प्रसाईंसँग वर्षाैं मुद्दा लड्न सम्भव नदेखेपछि अमितले दुर्गालाई एउटा विशेष खालको धम्की दिनुभयो । त्यसबेला दुर्गा प्रसाईं अहिले जति चर्चित हुनुहुन्नथ्यो तर जताततै गालीगलौज सभा गर्दै भने हिँड्नुहुन्थ्यो ।
तपाईं जहाँजहाँ गालीगलौज सभा गर्नुहुन्छ, त्यहाँ गएर कार्यक्रम विथोल्छु, मेरो ऋण खाएको प्रमाण पनि कार्यक्रममा पेस गर्छु भनेर अमितले धम्की दिनुभयो । अमित लामा पनि राम्रै संख्यामा युवा विद्यार्थीहरु साथमा भएको युवा संघको नेता हो । दुर्गाले यो कुरा बुझ्नुभएको थियो ।
आफूले जहाँ गालीगलौज सभा गरे पनि भाँडभैलो हुने भएपछि दुर्गा आत्तिनुभयो । अमितले गाडी पनि खोसिदिन्छु भन्न थाल्नुभयो । त्यसपछि दुर्गाले रकमको सट्टा गाडी लिन भन्नुभयो । दुर्गाले वर्षाैंसम्म चलाएको गाडी अमितले नयाँ किने बराबरको मूल्यमा सकार्नुपरेको बताइन्छ ।
गाडी अमितलाई दिएपछि पनि दुर्गाले नामसारी गर्न भने आनाकानी गर्नुभयो । त्यसपछि अमितले दुर्गाको सभामा गाडी लिएर जाने, सबैलाई गाडीको अन्र्तकथा सप्रमाण भनिदिने र सभा पनि विथोलिदिने धम्की दिनुभयो । त्यसपछि दुर्गा फत्रक्कै गल्नुभयो र गाडी नामसारी गरिदिनुभयो ।
दुर्गाले अमितलाई अझै पनि केही करोड रुपैयाँ तिर्न बाँकी भएको बताइन्छ । तर, दुर्गाले यो जुनीमा तिर्ने छाँट देखिएको छैन ।
र, केपी ओलीको साथमा
एमालेले मंसीर १४ गतेदेखि समृद्धिका लागि सङकल्प यात्रा गर्दैछ । सो यात्रा बैतडीको झुलाघाटदेखि पाँचथर सम्म चल्नेछ । सो यात्रा पहाडी क्षेत्रको पुष्पलाल राजमार्गमा हुँदैछ । यात्राका लागि एमालेले बलियो गाडी खोजी गर्यो । खासगरी अध्यक्ष ओलीको स्वास्थ्यलाई ध्यानमा राख्दै एउटा सुविधा सम्पन्न गाडी पनि खोजी गर्यो ।
त्यसरी गाडी खोजी भएको थाहा पाएपछि अमितले आफ्नो गाडी पार्टीलाई जिम्मा दिनुभयो । पार्टीले सो मोटर अध्यक्ष ओलीका लागि छुट्याएको छ ।
अब केही समय ओली सो गाडीमा यात्रा गर्नुहुनेछ । ओलीको यात्रा समृद्धिका लागि सङकल्प गर्ने प्रयोजनका लागि हुनेछ, तर, ओली चढ्नुहुने गाडीले भने दुर्गा प्रसार्इंको बेइमानी र ऋण खाएर नतिर्ने चरित्रको वयान गर्नेछ ।


प्रतिकृया दिनुहोस