दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ, आत्मसमर्पण गरेको सचिवालयको दाबी
काठमाडौं । राजावादी आन्दोलनको नाइके दुर्गा प्रसाईँ भारतबाट पक्राउ परेका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्रले गठन गरेको जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईँलाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेको हो । गत चैत १५ गते राजावादीको आन्दोलनको नाममा काठमाडौंको तीनकुने, कोटेश्वर, जडीबुटी लगायतको क्षेत्रमा हिंसात्मक गतिविधि गराई एक जना पत्रकारलाई ज्युँदै आगो लगाएर ज्याने लिने घटनाका नाइके प्रसाईँ घटना पछि भागेका थिए ।
प्रसाईँले चैत १५ गतेको प्रदर्शनको क्रममा ड्युटीमा बसेको प्रहरी माथि गाडी चढाउने दुष्प्रयास समेत गरेका थिए । घटना पछि भागेको प्रसाईँको प्रहरीले खोजी गरिरहेको थियो ।
सुरुमा सिआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रसाईँको खोजी गरेको भए पनि पछि प्रहरीको विशेष ब्युरोले सो कामको जिम्मा लिएको थियो ।
प्रसाईँको सचिवालयले पनि उनी पक्राउ परेको पुष्टि गरेको छ । सचिवालयले भने पक्राउ परेको नभई आत्मसमर्पण गरेको जनाएको छ । ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईँज्यूले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजो मात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौँ भनेका थियौँ र आज उपस्थित भयौँ’, प्रसाईँका फेसबुक पेजमा लेखिएको छ ।
प्रसाईँलाई भारतबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । यस अघि प्रसाईँले आफू कतै नभागेकाे र नेपालमा नै भएकाे भिडियाे सन्देश जारिगर्दै आएका थिए ।


प्रतिकृया दिनुहोस