धरानको होटलबाट ब्राउन सुगरसहित तीन जना पक्राउ
सुनसरी । धरानस्थित एक होटलमा लागूऔषध कारोबार भइरहेको सूचनापछि प्रहरीले छापा मार्दा तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्चीनगरपालिका–४ का २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोकका २२ वर्षीय समिर दियाली तथा झापा विर्तामोडका २८ वर्षीय क्षितिज भण्डारी रहेका छन् । उनीहरू हाल काठमाडौं र झापामा बसोबास गर्दै आएको खुलेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर पीटीआई, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–९ बगैचालाइनस्थित रत्न इन होटलमा शुक्रबार राति छापा मारेको थियो । सो क्रममा होटलको कोठा नम्बर ७ बाट करिब ३६ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लागूऔषध कारोबारमा प्रयोग भएको आशंकामा दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । बरामद सामग्रीसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस