• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

कार्यकक्षमै सभामुख र एमाले सांसद्हरुको भनाभन

सनराइज खबर संवाददाता

काठमाडौं । कुराकानी राम्रैसँग सुरु भएको थियो तर वातावरण तातियो । भनाभन नै भयो । सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा आजको घटना हो यो । 

११ बजे नेकपा एमालेका सांसद्हरु सभामुखलाई भेट्न गएका थिए । विषय थियो– १४ जना सांसद्लाई पदबाट हटाउने । एमालेले १४ जनालाई सांसद् पदबाट हटाउन सभामुखलाई निवेदन दिएको तीन दिन भयो । अहिलेसम्म सभामुखले उनीहरुलाई पदबाट किन नहटाएको ? कहिले हटाउने ? यही कुरा बोकेर एमाले सांसद्हरु गएका थिए । 

कार्यकक्षमा सभामुख अग्निप्रसाद एक्लै हुनुहुन्थ्यो । एमालेका विशाल भट्टराई, शान्ता चौधरी, महेश बस्नेत, खगराज अधिकारी, विमला विक लगायतका सांसद्हरु कार्यकक्षमा पसे । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कुरा राख्न थाल्नुभयो । उहाँको भनाई थियो– १४ जना सांसद्लाई किन निकाल्नुभएन ? 

सभामुख अग्निप्रसादले ‘म हेर्दैछु, म विचार गर्दैछु’ भन्नुभयो । एमाले सांसद्हरु बोल्न थाले, सोध्न थाले । जति बोले पनि जति सोधे पनि अग्निप्रसादले प्रष्ट जवाफ दिनुभएन । निकै करकाप गर्न थालेपछि अग्निप्रसाद रिसाउन र झर्काेफर्काे गर्न थाल्नुभयो । सभामुख रिसाउन थालेपछि एमालेका सांसद्हरु मध्ये सबैभन्दा पहिले तातिनुभयो महेश बस्नेत । 

बैठकमा सहभागी एक सांसद्का अनुसार महेश बस्नेतले पनि अलि कडा स्वरमा सोध्नुभयो– ‘१४ जनालाई हटाउने प्रक्रिया कहिले थाल्नुहुन्छ ? हटाएको सूचना कहिले प्रकाशित गर्नुहुन्छ ?’

त्यसपछि अग्निप्रसाद पनि रन्कनुभयो, कुर्सीबाट उठेर रिसाउँदै भन्नुभयो– ‘मलाई दवाब दिन आएको ? मलाई दवाब दिएर निर्णय गराउन आएको ? तपाईंहरुले जे भन्यो म त्यही गर्छु ? मलाई दवाब नदिनुस् ।’

त्यसपछि महेश पनि रन्कँदै भन्न थाल्नुभयो– ‘गडबडी गर्नुहुन्छ भने, पदीय मर्यादा बाहिर गएर निर्णय गर्नुहुन्छ भने हामी पनि बल प्रयोग गर्छाैं ।’

त्यसपछि भनाभन सुरु भयो । सभामुख अग्निप्रसाद चिच्याउँदै बोल्न थाल्नुभयो । उहाँ पाखुरा सुर्कंदै भन्न लाग्नुभयो– ‘के गर्न सक्नुहुन्छ अहिले नै गर्नुस् । मलाई मार्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने मलाई यहिँ मार्नुस् ।’

अग्निप्रसादको अग्नि रुप देखेर एमाले सांसद्हरु हेरेको हेर्यै भए । त्यसपछि शान्ता चौधरीले भन्नुभयो– ‘तपाईंले पहिले यस्तै निवेदन आउँदा २४ घन्टा नबित्दै सूचना जारी गर्नुभयो । हामीले निवेदन दिएको तीन दिनसम्म पनि किन सूचना जारी गर्नुभएन ?’

अग्निप्रसादको जवाफ थियो– ‘सूचना तपाईंले जारी गर्ने कि मैले ? तपाईंहरुले जेजे भन्यो म त्यही गर्छु ? मलाई हेपेको हो ? मलाई थर्काउन खोजेको हो ?’

वैठकमा सहभागी एक सांसद्ले सनराइज खबरसँग भने– ‘अग्निप्रसादजीको स्वभाव विचित्रको रहेछ । उहाँको अनौठो रुप देखियो ।’

सभामुखको अनौठो रुप धेरै बेर रहेन । एमाले सांसद्हरुले पनि अलि कडाईसाथ जवाफ फर्काउन थालेपछि अग्निप्रसाद अलि ठण्डा हुनुभयो । रीस केही मरेपछि उहाँले भन्नुभयो– ‘म चाँडै निर्णय गर्छु ।’

अग्निप्रसादको आश्वासनपछि एमाले सांसद्हरु बाहिरिएका थिए । 

वैठकमा सहभागी ती सांसद्ले सनराइज खबरलाई भन्नुभयो– ‘सभामुखजीले पद अनुकूलको आचरण गर्ने लक्षण देखिएन । उहाँको नियत बहुत खराब छ । संविधान तथा कानुन अनुसार उहाँले १४ जना सांसद्लाई हटाउने होइन जोगाउने चाहिँ नियत देखाउनुभयो ।’ 
 

प्रतिकृया दिनुहोस