सूचना प्रविधि विधेयक संसदीय समितिबाट पारित
काठमाडौं । सूचना प्रविधि विधेयक पारित भएकाे छ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिबाट विधेयक बहुमतले पारित भएको हो ।
विधेयककाे १ सय ३१ वटा दफामध्ये ३६ वटामा संशाेधन भएकाे छ । तर, कांग्रेसका सांसद्ले विधेयक पारित हुने क्रममा 'नोट अफ डिसेन्ट' लेखेका छन् ।
छलफलमा कांग्रेसका सांसद बहादुरसिंह लामाले नागरिकको मौलिक हक कुण्ठित हुने गरी विधेयक ल्याइएको भन्दै असहमति जनाए ।
‘राज्यले नागरिकलाई मौलिक हक दिनु पर्ने हाे । तर, यो विधेयक मौलिक हक कुण्ठित हुने गरी ल्याइएको छ' – उनले भने– 'विधेयकमा हाम्रो फरक मत छ । ’
परिच्छेद १४ को दफा ९१ देखि ९४ सम्म नागरिकको हक विपरीत भएकाे भन्दै साे दफा नै हटाउनुपर्ने उनले बताए । ‘नोट अफ डिसेण्ट जारी गरेका छौं । सदनमा रेकर्ड होस्’ –उनले भने ।
कांग्रेस सांसद् रङ्गमती शाहीले नागरिकको हक अधिकार कुण्ठित हुने विधेयक रहेकाे बताउँदै उनले प्रश्न गरिन् – ‘यो कस्तो लोकतन्त्र हो ?’
नेकपा सांसद् गणेश पहाडीले उपसमितिमा छलफल गर्दा ३६ बुँदामा संशोधन गरिएको बताउँदै विधेयकले मौलिक हक कुण्ठित नगर्ने बताए । सूचनाको हकमा देखिएका विकृती र विसंगतीलाई मध्यनजर गर्दे विधेयक पारित गनुपर्ने उनले बताए । ‘सूचना हक सम्बन्धी अरु कानुन छैन । यस्लाई पारित गर्नुपर्छ’ – उनले भने ।
न्यूज र भ्युजलाई समर्थन गर्नुपर्ने बताउँदै नेकपा सांसद् टोपबहादुर रायमाझीले नकारात्मक सूचनालाई नियन्त्रण गर्न भएपनि सो विधयेक पारित हुनुपर्ने बताए ।
बैठकमा सभापति कल्याणी कुमारी खड्काले असहमत सांसदलाई सबै कुरा फिर्ता लिएर सर्वसम्मतिले निर्णय स्वीकार गर्न आग्रह गरेकी थिइन् । उनीहरुले नमानेपछि सभापतिले विधेयक बहुमतले पारित भएको घाेषणा गरिन् ।
अबकाे याे विधेयक प्रतिनिति सभामा पेश हुनेछ ।


प्रतिकृया दिनुहोस