• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

प्रतिगुप्तचरी विधेयक अगाडि बढाइने, अब दफावार छलफल गरिने

अस्मिता क्षेत्री

काठमाडौं । नेपाली कांग्रेसले चर्काे विरोध गरिरहेको प्रतिगुप्तचरी (नेपाल विशेष सेवा) विधेयक राष्ट्रिय सभाको बिहीबारको बैठकमा पेस हुने भएको छ । 

सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव राख्नेछन् । 

राष्ट्रिय सभाको सम्भावित दैनिक कार्यसूचीमा सो विधेयक बिहीबारको बैठकमा प्रस्तुत गर्ने तय भइसकेको छ । 

सो विधेयक राष्ट्रिय सभामा पेस गरिँदा प्रमुख प्रतिपक्षी कांग्रेसले पेस गर्न हुँदैन भनी विरोधको सूचना दर्ता गरेको थियो । बैठकले बहुमतबाट विधेयक राष्ट्रिय सभामा भित्राएको हो । 

विधायन व्यवस्थापन समितिमा सो विधेयक उपर दफावार छलफल गरिने छ । प्रतिगुप्तचरी विधेयकले जनताको मौलिक हक हनन हुने दावी नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेस संसदीय दल र कांग्रेस केन्द्रीय समितिले सो विधेयक फिर्ता लिन सरकारसँग माग समेत गरेको छ । 

सो विधेयकमा नेपालमा क्रियाशील विदेशी गुप्तचरको निगरानी गर्ने, नेपालले पनि विदेशमा आफ्नो देशको हितका लागि गुप्तचरी गर्न सक्ने व्यवस्था छ । २०४७ सालसम्म नेपालमा प्रतिगुप्तचरीको व्यवस्था थियो । राष्ट्रिय अनुसन्धान विभाग (तत्कालीन जनसम्पर्क विभाग) ले प्रतिगुप्तचरीको काम गर्दै आएको थियो । तर, कांग्रेस सरकारले नेपाललाई प्रतिगुप्तचरी आवश्यक छैन भन्दै प्रतिगुप्तचरी इकाई विघटन गरेको थियो । 

यो विधेयकमा राष्ट्रिय अनुसन्धान विभागभित्रै प्रतिगुप्तचरी इकाई रहने व्यवस्था गरिएको छ । 

बिहीबारको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदैछ । त्यसैगरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुँदैछ । दुवै विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने योजना छ । तर, प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य कोही मन्त्रीले सो विधेयक पेस गर्न सक्नेछन् । 
 

प्रतिकृया दिनुहोस