आज संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्का ६ वटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अपराह्न १२ः३० बजेबाट बस्दै छ । आजको बैठकमा नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनेसम्बन्धीमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिसमक्ष पेस गरेपछि छलफल हुनेछ । त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल गरिने भएको छ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधि सभाका सदस्यहरूसँग छलफल हुनेछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज बस्दै छ । बैठकमा स्वर्गद्वारी गुठी किसानहरूका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुनेछ । बैठक बिहान ११ः३० बजे बस्दै छ ।


प्रतिकृया दिनुहोस