• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

१० करोडभन्दा बढी घूस लिएमा  १४ वर्ष कैद हुने विषयमा विधायन समितिमा सहमति

सनराइज खबर संवाददाता

काठमाडौं । १० करोड रुपैयाँभन्दा बढी घूस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ । 

शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घूस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।

समिति सभापति परशुराम मेघी गुरुङले घूस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको बताउनुभयाे ।

१ करोड देखि १० करोड रुपैयाँसम्म घूस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ । यसअघि १ करोड रुपैयाँभन्दा बढी जतिसुकै रकम घूस लिएपनि आठ देखि १० वर्षसम्म कैद र घूस (रिसवत) लिएको रकम जफत हुने प्रावधान थियो । 

१ करोड रुपैयाँसम्म घूस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ । 

‘५० हजार रुपैयाँसम्म घूस लिएमा १ देखि ६ महिना कैद, ५० हजार देखि १ लाख रुपैयाँसम्म घूस लिएमा ६ महिनादेखि १ वर्ष कैद, १ देख ५ लाखसम्म घूस लिएमा २ देखि २ वर्ष कैद, ५ देखि २५ लाख रुपैयाँसम्म घूस लिएमा २ देखि ४ वर्षसम्म कैद हुने विषयमा सहमति जुटेको छ’, सभापति गुरुङले भन्नुभयो ।

यसैगरी २५ लाख देखि ५० लाख रुपैयाँसम्म घूस लिनेलाई ४ देखि ६ वर्ष कैद, ५० देखि १ करोड रुपैयाँ घूस लिएमा ४ देखि ८ वर्षसम्म कैद, १ करोड देखि १० करोड रुपैयाँसम्म घूस लिएमा ८ देखि १० वर्षसम्म कैद र १० करोड रुपैयाँभन्दा बढी रकम घूस लिएमा १० देखि १४ वर्ष सम्म कैद हुने र घूस लिएको रकम जफत गरी सोही अनुसारको जरिवाना गर्ने विषयमा सहमति जुटेको  उहाँले बताउनुभयो । 

दफावार छलफमा सांसद रामनारायण विडारीले घूस लिएको प्रमाणित भएमा अभियुक्तको मात्रै नभएर सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्न सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

सांसद प्रमिला कुमारीले जति ठूलो रकम घूस लियो त्यती नै बढी कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो । अर्बौ रुपैयाँ घोटाला गर्नेलाई कम्तिमा पनि २० वर्ष कैद सजाय हुनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको महासन्धीको पक्षराष्ट्र भएकाले सरकारी, नीजि क्षेत्र तथा राजनीतिक क्षेत्रमा हुने भष्टाचार नियन्त्रणलाई व्यवस्थित गर्न पनि ऐन संशोधन थालिएको उहाँले बताउनुभयो । ऐन संशोधनपछि सरकारी सेवाका क्षेत्र तथा नीजि क्षेत्र र राजनीतिक क्षेत्रमा कुन तहसम्म जान सकिन्छ भन्ने विषयको टुंगो लाग्ने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस