तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास : गृह मन्त्री
काठमाडौं । गृह मन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनीलगायतका घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभएको छ ।
शुक्रबार संघीय संसद्को कानुन समितिको बैठकमा बोल्दै उहाँले सो घटनाका नाइके दुर्गा प्रसाईँलाई पक्राउ गरिएको जानकारी दिनुभयो । लेखकले घटनाका अन्य आरोपीहरू पनि पक्राउ पर्ने क्रम जारी हरेको बताउनुभयो ।
तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उहाँले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने बताउनुभयो । ‘घाइतेलाई अस्पतालहरूमा पुगेरै मैले भेटेको छु, घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरूप रु १०/१० लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ’, उहाँले भन्नुभयो
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास भएको उहाँले बताउनुभयो । ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित हुँदै, हिन्दु धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिका लागि प्रयोग गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्नेमा जोड दिनुभयो । तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको मन्त्री लेखकले बताउनुभयो । ‘यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि जानकारी गराउँछु, घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा प्रष्ट छु’, उहाँले भन्नुभयो ।


प्रतिकृया दिनुहोस