जेनजी आन्दोलनको बेला नक्खु कारागारबाट भागेका कैदी सिन्धुपाल्चोकबाट पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।
दोलखाको सैलुङ गाउँपालिका–८ निवासी ४४ वर्षीय सुनिल श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढे क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रेष्ठ डाँका चोरी मुद्दामा दोषी ठहर भई पाँच वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए। जेनजी आन्दोलनका क्रममा उत्पन्न अवस्थाको फाइदा उठाउँदै उनी कारागारबाट फरार भएका थिए।
पक्राउपछि श्रेष्ठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः नक्खु कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रतिकृया दिनुहोस