• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

सुरक्षाकर्मीको निधन प्रति ओलीद्वारा दुःख व्यक्त, आज कुनै कार्यक्रममा सहभागी हुनुभएन  

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो  सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन प्रति दुःख व्यक्त गर्नुभएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भई ओली निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिनु भएका सशस्त्र प्रहरीका इन्स्पेक्टर ४२ वर्षीय उमेश थापाको शनिबार बिहान आफ्नै निवासमा निधन भएको घटना प्रति ओलीले दुःख व्यक्त गर्नुभएको हो । थापा शनिबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित आफ्नै घरमा सुतेको बेला अचेत भएका थिए । 

घरमा अचेत अवस्थामा भेटिएका थापालाई उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँलाई हृदयाघात भएको प्रारम्भिक अनुमान छ । 

ओलीले धेरै नबोल्ने र लजालु स्वभावका, काममा जहिले पनि तम्तयार हुने थापाको निधनले आफूलाई दुखित तुल्याएको बताउनु भएको छ । उहाँको निधनको कारण आज कुनै पनि कार्यक्रममा सहभागी नभएको ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । 

आज नेकपा एमाले वाग्मती प्रदेश सम्पर्क कमिटीले एसईई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाएको थियो । तर थापाको शोकमा उहाँ सो कार्यक्रममा सहभागी हुनुभएन । ‘सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु, आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ, हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो, परिवारजनमा समवेदना व्यक्त गर्दछु’, ओलीले लेख्नु भएको छ । 

 

प्रतिकृया दिनुहोस
↑