• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । सरकारले सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन सबै सरकारी निकायलाई अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश सरकारहरूलाई परिपत्र जारी गर्दै अनावश्यक खरिद नियन्त्रण गर्न आग्रह गरेको हो ।

कार्यालय प्रमुखहरूले कार्यालयमा उपलब्ध सामग्री, औजार, उपकरण, फर्निचर तथा सवारीसाधनलाई मर्मतसम्भार गरी सञ्चालनमै राख्नुपर्ने तथा अत्यावश्यक अवस्था बाहेक नयाँ सामग्री खरिद नगर्न भनिएको छ । साथै सार्वजनिक खर्चलाई मितव्ययी बनाउन विशेष ध्यान दिन निर्देशन दिइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रयोगमा रहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटपलगायत सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने तथा मर्मतमा अस्वाभाविक खर्च गर्ने प्रवृत्तिले राज्यकोषमा अतिरिक्त भार परेको गुनासो प्राप्त भएपछि यस्तो कदम चालिएको हो ।

प्रधानमन्त्री कार्यालयको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन सम्बन्धित निकायलाई परिपत्र गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस