• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

ग्रीन कार्ड लिन अमेरिका छोड्नुपर्ने नयाँ अमेरिकी नियम

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अमेरिकाले आप्रवासन नीतिमा कडाइ गर्दै अब अधिकांश ग्रीन कार्ड आवेदकलाई आफ्नै देश फर्किएर मात्रै आवेदन प्रक्रिया पूरा गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले सार्वजनिक गरेको नयाँ नियमअनुसार अब अमेरिका भित्रै बसेर स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) का लागि ‘स्टाटस एड्जस्टमेन्ट’ गर्ने सुविधा सीमित गरिएको छ। अब विशेष र असाधारण अवस्था बाहेक अधिकांश आवेदकले आफ्नो देशस्थित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमार्फत प्रक्रिया अगाडि बढाउनुपर्नेछ।

नयाँ नीतिलाई ट्रम्प प्रशासनले अवैध आप्रवासन नियन्त्रण गर्ने रणनीतिको हिस्सा भएको जनाएको छ। पछिल्लो समय पर्यटक, विद्यार्थी तथा अस्थायी कामदार भिसामा अमेरिका पुगेका व्यक्तिहरूले त्यहीँबाट ग्रीन कार्ड प्रक्रिया अघि बढाउने अभ्यास बढ्दै गएको भन्दै प्रशासनले त्यसमा नियन्त्रण गर्न खोजेको बताइएको छ।

USCIS का प्रवक्ताले अस्थायी भिसामा अमेरिका प्रवेश गरेर स्थायी बसोबासको बाटो बनाउने प्रवृत्तिलाई अब निरुत्साहित गरिने बताएका छन्। उनका अनुसार अमेरिका भ्रमण वा अस्थायी बसाइलाई ग्रीन कार्ड प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गर्न नदिने उद्देश्यले नीति परिवर्तन गरिएको हो।

यद्यपि, मानवअधिकारकर्मी तथा आप्रवासन विज्ञहरूले भने यो निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार पुरानो व्यवस्थाले आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाएको थियो। नयाँ नियमले भने हजारौँ परिवार, विद्यार्थी र रोजगारदातामा अन्योल र असुरक्षा बढाउने चिन्ता व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस