• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

इरानमाथि फेरि सैन्य कारबाहीको तयारीमा अमेरिका, ट्रम्प प्रशासन दबाब र कूटनीतिमा एकसाथ सक्रिय

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

वासिङ्टन । कूटनीतिक संवाद जारी रहेकै बेला डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानविरुद्ध पुनः सैन्य कारबाहीको सम्भावनाबारे आन्तरिक तयारी तीव्र बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, हालसम्म आक्रमणसम्बन्धी अन्तिम निर्णय भने भइनसकेको बताइएको छ ।

अमेरिकी प्रशासन निकट स्रोतहरूका अनुसार सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकी सेना तथा गुप्तचर निकायले आफ्ना आकस्मिक तयारी योजनाहरू अद्यावधिक गर्न थालेका छन् । पश्चिम एसियामा रहेका केही सैन्य अखडाहरूमा सुरक्षा सतर्कता बढाइएको छ भने अधिकारीहरूलाई आवश्यक परे तत्काल ड्युटीमा फर्कन सक्ने अवस्थामा राखिएको जनाइएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सरकारी परिस्थितिका कारण आफू छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह कार्यक्रममा सहभागी हुन नसक्ने उल्लेख गर्नुभएको छ । उहाँ यसअघि ‘मेमोरियल डे’ सप्ताहन्त न्यु जर्सीस्थित आफ्नै गल्फ रिसोर्टमा बिताउने योजनामा हुनुहुन्थ्यो ।

अमेरिका र इरानबीच गत अप्रिलमा अस्थायी युद्धविराम लागू भएपछि प्रत्यक्ष आक्रमण रोकिएको थियो । त्यसयता दीर्घकालीन सहमतिका लागि अप्रत्यक्ष कूटनीतिक वार्ता जारी छ ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले इरानलाई लिएर अमेरिकी नीति स्पष्ट रहेको बताएकी छन् । उनका अनुसार इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न अनुमति नदिइने र संवर्धित युरेनियम भण्डारण गर्न पनि नपाइने अमेरिकी अडान छ ।

उनले राष्ट्रपति ट्रम्पसँग सबै विकल्प खुला रहेको उल्लेख गर्दै आवश्यक निर्णय कार्यान्वयनका लागि पेन्टागन तयार रहेको बताइन् । साथै, इरानले सहमति नगरे त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनीसमेत दिइएको छ ।

अर्कोतर्फ इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिका वा इजरायलबाट थप आक्रमण भए द्वन्द्व मध्यपूर्व बाहिरसम्म फैलिन सक्ने चेतावनी दिएको छ । इरानले “कल्पना गर्न नसकिने स्थानहरूमा कडा प्रहार” गर्ने प्रतिक्रिया दिन सक्ने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तेहरानले अमेरिकी प्रस्तावमाथि अध्ययन गरिरहेको बताइएको छ । उक्त प्रस्ताव अस्वीकार भए पुनः सैन्य कारबाही हुन सक्ने चेतावनीसमेत वासिङ्टनले दिएको स्रोतहरूको दाबी छ ।

राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि इच्छुक देखिएको प्रतिक्रिया दिँदै केही दिनभित्र तेहरानबाट औपचारिक जवाफ आउने अपेक्षा गरिएको बताउनुभएको छ । पाकिस्तानमार्फत भइरहेको मध्यस्थताले कूटनीतिक प्रयासलाई निरन्तरता दिएको जनाइएको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सैन्य विकल्पभन्दा कूटनीतिलाई प्राथमिकता दिइएको दाबी गर्नुभएको छ । उहाँले केही सकारात्मक संकेत देखिए पनि अन्तिम निष्कर्षमा पुग्न अझै समय लाग्ने बताउनुभयो ।

रुबियोले हर्मज जलडमरुमध्यको सुरक्षा र सम्भावित सैन्य विकल्पबारे नेटो सदस्य राष्ट्रहरूसँग छलफल भएको खुलासा गर्दै त्यसलाई ‘प्लान बी’ का रूपमा उल्लेख गर्नुभएको छ ।

उता वासिङ्टनमा रिपब्लिकन सांसदहरूले राष्ट्रपति ट्रम्पको इरानविरुद्ध सैन्य कारबाही गर्ने अधिकार सीमित गर्ने प्रस्ताव अगाडि बढाउने प्रयास भने रोकिएको छ । आवश्यक समर्थन नपुग्ने निष्कर्षपछि उक्त पहल स्थगित गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस