• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य : भारत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । भारतले नेपाल–भारत सीमा सम्बन्धी विषयहरू दुई देशबीचकै संवाद र संयन्त्रमार्फत समाधान हुनुपर्ने बताउँदै कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवाल ले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल–भारत सीमा विवादबारे उठेका पछिल्ला चर्चाप्रति प्रतिक्रिया दिँदै द्विपक्षीय विषयमा बाह्य हस्तक्षेपको आवश्यकता नरहेको बताएका हुन्।

उनले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा व्यक्त गरेको धारणा तथा त्यसपछि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको स्पष्टीकरण आफूहरूले ध्यानपूर्वक अध्ययन गरेको जानकारी दिए।

जैशवालका अनुसार भारत र नेपालबीचको अधिकांश सीमा क्षेत्रको सीमांकन सम्पन्न भइसकेको छ भने केही स्थानमा मात्रै विवाद बाँकी रहेको छ। विशेषगरी नदीको धार परिवर्तन तथा केही सीमावर्ती क्षेत्रमा देखिएका प्राविधिक जटिलताका कारण ती विषय समाधान हुन नसकेको उनको भनाइ थियो।

उनले सीमास्तम्भ वरपर देखिएका अतिक्रमण तथा सीमासम्बन्धी अन्य प्राविधिक विषयहरू समाधान गर्न दुवै देशका सम्बन्धित निकायहरू संयुक्त रूपमा काम गरिरहेको पनि बताए।

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा विवादको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै यस विषयको सम्बन्ध सुगौली सन्धि सँग जोडिएको उल्लेख गरेका थिए। सो क्रममा उनले आवश्यक परे ऐतिहासिक पक्षसँग सम्बन्धित मुलुकसँग पनि संवाद हुन सक्ने संकेत गरेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद् तथा राजनीतिक वृत्तमा बहस जारी छ। विपक्षी दलहरूले उनको भनाइप्रति आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् भने केही कूटनीतिक विश्लेषकहरूले यस्तो अभिव्यक्तिले नेपालको परम्परागत अडानमा असर पर्न सक्ने टिप्पणी गरेका छन्।

प्रतिकृया दिनुहोस