• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

‘एक युगमा एक दिन एकचोटी आउँछ’

सनराइज सम्पादकीय

सनराइज सम्पादकीय

कवि गोपालप्रसाद रिमालले ‘एक युगमा एक दिन एकचोटी आउँछ’ लेखेका थिए । युगौंयुगमा आउने एउटा दिन आज आएको छ । आजको ऐतहासिक दिन हेर्न कवि रिमाल हामी माझ छैनन्, भिमसेन थापा, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा लगायतका महान नेपाली सपूतहरु पनि हामी माझ छैनन् । तर, परलोकबाट उनीहरुले आजको दिन अवश्य हेरिरहेका छन्, नेपालीलाई हौसला दिइरहेका छन् ।

आज नेपालको संघीय संसद्ले नेपालको नयाँ मानचित्र संविधानमा अंकित गर्न संविधान संशोधन गरेको छ । संसद्को दुवै सदनले संविधान संशोधन विधेयक पारित गरिसकेको छ । अब संविधान संशोधनले औपचारिकता पाउन धेरै प्रकृया छैन । संसद्को दुवै सदनले विधेयक पारित गरिसकेपछि नेपालको नयाँ मानचित्र संविधानमा अंकित भइसकेका छ भन्ने बुझे हुन्छ ।

नेपालमा बारम्बार राजनीतिक परिवर्तन भए तर त्यस्ता परिवर्तनहरुभन्दा धेरै उपल्लो कोटीको परिघटना हो संसद्ले नयाँ मानचित्र संविधानमा अंकित गर्नु ।

आजको दिनलाई फगत संविधान संशोधन भएको दिन मात्र मान्न सकिन्न । संविधान संशोधन भन्दा धेरै धेरै नै माथिको परिघटना हो नेपालको नयाँ मानचित्रलाई नेपाली जनताको तर्फबाट संघीय संसद्ले अनुमोदन गर्नु । युगौंयुगमा विरलै आउने एउटा दिनका रुपमा चीरकाल पर्यन्त स्मरण गरिनेछ आजको दिनलाई ।

आजको दिन भनेको सुगौली सन्धिले टुटाएको कडी जोडिएको दिन हो, सुगौली सन्धिले फुटाएको भाग्य जोडिएको दिन हो । सन् १८१६ मा सुगौली सन्धि हुनु अघि नेपालमा राष्ट्रियताको जागरण फैलिएको थियो । देशका लागि हासीहासी आहुती दिन नेपाली जनता अगाडि सरेका थिए । दुई सय वर्ष भन्दा धेरै पूरानो त्यही भावनासाथ आज नेपाल जागेको छ, त्यही भावनासाथ संसद्ले एकढिक्का भएर नयाँ मानचित्रलाई संविधानमा अंकित गरेको छ । 

नेपाल र व्रिटिश भारत बीचको लडाईंपछि सुगौली सन्धि भएको थियो । त्यो सन्धिको सेरोफेरोबाट नेपालको वर्तमान भौगोलिक स्वरुप बनेको हो । सुगौली सन्धिसँगै नेपाल कालो युगमा प्रवेश गरेको थियो । यो दुईसय वर्षमा नेपाल प्रत्यक्ष तथा अप्रत्क्ष रुपमा थिचियो, मिचियो, किचियो तर समाप्त भएन । नेपाली जनको बलिदानी, एकता र समर्पणका कारण नेपालले कहिल्यै पराधीन हुन परेन । हो, नेपालमाथि थिचोमिचो भयो तर कहिले पनि नेपाल निहुरिएन । नेपालको राष्ट्रिय स्वतन्त्रता हनन गर्ने प्रयाश नभएको होइन, तर, जस्तासुकै प्रयाशलाई निस्तेज गर्दै नेपाल आज विश्वमा स्वतन्त्र, सार्वभौम र शक्तिशाली मुलुकका रुपमा खडा भएको छ । दक्षिण एसियाको सबैभन्दा पूरानो र विश्वकै प्राचीन देशमध्येमा नेपाल उभिएको छ । र, अब नयाँ मानचित्र, नयाँ उत्साह, नयाँ एकता र नयाँ परिवेश साथ नेपाल विश्वमाझ खडा भएको छ ।

महाकाली नदीवारी भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूमि अब नेपालको मानचित्रमा औपचारिक रुपमै अंकित भएको छ, सो मानचित्र संविधानमा समेत अंकित भएको छ । सुगौली सन्धिको विन्दुमा नेपाल फर्किएको छ तर यो दुई सय वर्षमा परिवेश धेरै फेरिएको छ । नेपालको राष्ट्रियता विगतभन्दा कैयन गुणा मजबुत भएको छ । नेपाल यति बलियो बनिसकेको छ कि चन्द्रसूर्य रहेसम्म विश्व मानचित्रबाट नेपाल मेटिने छैन । पूरै विश्व, खासगरी दक्षिण एसियाको परिवेश भिन्न भइसकेको छ । यो भूक्षेत्रमा अंग्रेजको औपनिवेशिक शासन समाप्त भइसकेको छ तर उपनिवेशकालीन भारतीय मानसिकता समाप्त भएको छैन । यही कारण नेपाल जस्ता देशले बारम्बार पीडित बन्दै आउनुपरेको छ, नाकावन्दी भोग्नुपरेको छ । तैपनि नेपाल शान र स्वाभिमानसाथ सधैं उभिएको छ । संघीय संसद्ले आज नयाँ मानचित्र संविधानमा अंकित गर्ने जुन निर्णय गरेको छ– त्यो निर्णयको सन्देश अनेक छ ।

मुख्य कुरा, नेपालले कसैको थिचोमिचो सहँदैन भन्ने सन्देश प्रतिनिधि सभाले प्रष्टसँग दिएको छ । अर्काे सन्देश हो– नेपालको कोही सत्रु छैन, मित्र मात्र छन् तर मित्रको भेषमा कसैले लुटेरा व्यवहार गर्छ भने त्यसको यथोचित प्रतिकार नेपालले गर्छ । केही समय नेपाली भूमि अतिक्रमण गर्न सकिएला तर सदाका लागि सकिँदैन भनेर प्रतिनिधि सभाले दह्रो सन्देश दिएको छ ।

नेपाललाई यो अवस्थामा पुराउन भारतले नकारात्मक ढंगले प्रेरित गरेको छ । उसले विवादित भूमि कश्मिरलाई आफ्नो मानचित्रमा समेट्न नयाँ मानचित्र जारी गर्‍याे । त्यसरी नयाँ मानचित्र जारी गर्दा उसैले विवादित भनेको लिम्पियाधुरा सहितको क्षेत्रलाई भारतमा समेट्यो । भारतीय संविधानमा पनि त्यो कुरा समेट्यो । जसको जवाफ नेपालले यसरी नै दिनुपर्थ्याे । नेपालले पनि आफ्नो मानचित्र जारी गर्नैपर्ने भयो । नेपालले पनि संविधानमा नयाँ मानचित्र अंकित गर्नैपर्ने भयो । र, नेपालले विश्व समुदायलाई दह्रो सन्देश दिने गरी सर्वसम्मतिले संविधान संशोधन गरेको छ । तथ्य के हो भने– संसदीय परिपाटीमा यस्ता महत्वपूर्ण परिघटनामा सर्वसम्मति दुर्लभ र विरलै हुने घटना हो । यस्तो विरलै घटनाको उदाहरण नेपालले विश्व समक्ष प्रस्तुत गरेको छ । 

लिम्पियाधुरासम्मको अर्थात् महाकाली नदीसम्मको भूमि नेपालकै हो, यसमा स्वयं भारतले पनि बोल्न सक्ने अवस्था छैन । अब भारतले भूमि फिर्ता गर्नुपर्ने बेला आएको छ । भूमि फिर्ता गर्न छाडेर भारतले छलको बाटो लिन्छ भने त्यसको यथोचित जवाफ पनि नेपालले दिने नै छ । 

अन्त्यमा,

राष्ट्रियताको पक्षमा नेपालमा जुन अपूर्व एकता देखिएको छ त्यसलाई खण्डित गर्ने प्रयास कसैले गर्न हुँदैन । राष्ट्रिय एकताको पक्षमा जो उभिँदैन, जसले भविष्यमा ‘तर, किन्तु, परन्तु, भएपनि, तैपनि’ जस्ता शब्दपछाडि कुनै बहानावाजी गर्छ भने उसलाई जनताले चिन्ने नै छ र तद्अनुरुपको व्यवहार गर्ने नै छ ।

युगौं युगमा एकपटक आउने एउटा दिनलाई हार्दिक स्वागत छ ।

प्रतिकृया दिनुहोस