• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

कोरोना : यही हो तेस्रो विश्वयुद्ध

सनराइज खबर

सनराइज खबर

दोस्रो विश्वयुद्ध पछि अल्बर्ट आइन्स्टाइनलाई सोधियो– अब तेस्रो विश्वयुद्ध कहिले हुन्छ ? उनको जवाफ थियो– तेस्रो विश्वयुद्ध बारे थाहा छैन तर चौथो विश्वयुद्ध चाहिँ ढुंगामुढाले हुन्छ । 

तेस्रो विश्वयुद्धले मानव सभ्यतालाई समाप्त पारेर ढुंगे युगमा फर्काउँछ भन्ने आइन्स्टाइनको विचारलाई नकार्न सकिँदैन । अहिले तेस्रो विश्वयुद्ध सरह भएको छ कोरोना अर्थात् कोभिड–१९ विरुद्धको संघर्ष । 

८० देशमा कोरोना पुगेको छ । तीन हजार दुईसय भन्दा धेरैको ज्यान गइसकेको छ । ९२ हजार भन्दा धेरै मानिसमा कोरोना देखिएको छ । नेपालमा कोरोना देखा परेको छैन तर कुनै पनि बेला देखिन्छ भन्ने आधारमा प्रतिरोधको तयारी आवश्यक छ ।

विगतमा देखा परेका विभिन्न भाइरसको महामारीको तुलनामा कोरोनाले गरिरहेको क्षति र प्रभावितको संख्या केही पनि होइन । स्वाइन फ्लू, सार्स, इबोला, मर्स, एचआईभी, जिका लगायतका भाइरस आधारित महामारी पछिल्लो २० वर्षमा फैलिएको छ । विगतका महामारीभन्दा कोरोनाको चरित्र फरक छ । विगतका महामारी यति धेरै देशमा फैलिएको थिएन । 

अहिलेसम्म कोरोनाका कारण मानिसको मृत्युदर तीन दशमलव २४ प्रतिशत मात्र देखिएको छ । तर, यो तथ्यांक सबै देशको एकमुष्ट हो । स्वास्थ्य सेवा प्रभावकारी नभएको इरानजस्ता देशमा मृत्युदर १६ प्रतिशतसम्म छ भन्ने तथ्यमा ध्यान दिइनुपर्छ । यो मृत्युदर पनि विगतका भाइरसभन्दा धेरै होइन । तर, प्राणीको शरीर बाहिर कुनै वस्तुमा बाँच्न सक्ने अवधीले पनि कोरोनालाई विगतका भाइरसभन्दा फरक बनाउँछ ।

कोरोना भाइरस प्राणीको शरीर बाहिर अवस्था र तापक्रम हेरी केही घन्टादेखि नौ दिनसम्म जिवित रहने विभिन्न अध्ययनहरुले देखाएको छ । कोरोना भएको वस्तुमा मानिसले छोएमा भाइरस सर्छ । यसको अर्थ हो– विगतका भाइरसभन्दा कोरोनाको फैलने गति धेरै छ । त्यसैले कोरोना ८० भन्दा धेरै देशमा
देखा परिसकेको छ ।

मानव सभ्यताले कोरोनाभन्दा कैयौं घातक महामारी झेलिसकेको छ । जस्तो कि प्लेग । अहिलेसम्म देखिएका सर्वाधिक खतरनाक महामारी प्लेगलाई मानिन्छ तर त्यसलाई पनि मानिसले जितिसकेको छ । पहिलो विश्वयुद्धको बेला फैलिएको स्पेनिस भाइरसले पनि अकल्पनीय क्षति गरेको थियो ।

कोरोनाको भयावह स्वरुप के हो भने यसले विश्व मानव समाजको गतिविधि नै ठप्प पार्दै लगेको छ । कोरोनासँग बच्न सीमा बन्द गर्नुपर्ने, मानिसको आवतजावत नियन्त्रित गर्नुपर्ने, भेला हुने गतिविधि नगर्नुपर्ने अवस्था आएको छ । भेला भएर गरिने धार्मिक अनुष्ठान र चाडवाड समेत बन्द गर्नुपर्ने अवस्था छ । जसका कारण पूरै विश्वको आर्थिक गतिविधि ओरालो लागेको छ भने उत्पादन पनि ठप्प हुँदैछ । विश्वभरी स्वास्थ्य सामग्री अभाव हुने अवस्था विगतका दुई विश्वयुद्धको बेला बाहेक कहिल्यै आएको थिएन तर कोरोनाले त्यस्तो अवस्था सिर्जना गरेको छ । कतिसम्म भने मुखमा लगाउने मास्कको समेत चरम अभाव विश्वले झेलिरहेको छ । अभाव र आतंक यति धेरै छ कि यो अवस्थालाई तेस्रो विश्वयुद्ध भन्न सकिन्छ ।

युद्धकालमा हुनेजस्तो अवस्था कोरोनाको महामारीले सिर्जना गरेको छ ।

कोरोना कहिले रोकिन्छ भन्न सकिन्न तर भविष्यमा योभन्दा घातक भाइरसले मानिसलाई आक्रमण गर्नेछ । भविष्यमा आइलाग्ने भाइरस विरुद्ध लड्न कोरोनाले मानव सभ्यतालाई पाठ पढाइरहेको छ र पढाउने पनि छ । 

यो ‘विश्वयुद्ध’को पाठ के हो ? 

मानिसले पहिलो र दोस्रो विश्वयुद्ध मानिसकै विरुद्ध लड्यो तर अहिलेको युद्ध र आगामी युद्ध भाइरससँगै हो । विश्वयुद्ध नै हो यो, अब मानव समुदायले भाइरससँग निरन्तर युद्ध लडिरहनुपर्नेमा शंका छैन । 

मानिसले आपसी लडाईं गर्न ठूलो रकम खर्च गरिरहेछ । भयानक हतियार बनाइरहेछ । औषधि उपचारको अनुसन्धानमा भन्दा हतियारको अनुसन्धानमा धेरै खर्च गरिरहेछ । निश्चित छ, आगामी दिनमा कोरोनाभन्दा घातक भाइरसको मानव समुदायले सामना गर्नुपर्ने छ । त्यसैमा सम्पूर्ण ध्यान केन्द्रीत गरिनुपर्छ । भाइरसहरु यसरी नै देखा पर्ने हो भने आगामी दिनमा मानिसको आपसी युद्ध गौण बन्नेछ, भाइरससँगको युद्ध मुख्य बन्नेछ । 

त्यसैले

♦ हतियार अनुसन्धानमा भइरहेको खर्च अब औषधि अनुसन्धानमा लगाउनुपर्छ ।
♦ ब्यारेक चलाउन भइरहेको खर्च अब अस्पताल चलाउन गर्नुपर्छ । 
♦ सेना पाल्न भइरहेको खर्च अब स्वास्थ्यकर्मी पाल्न गर्नुपर्छ।
♦  बन्दुककाे गाेली बनाउने खर्चले अब अ‌ाैषधिकाे गाेली बनाउनु पर्छ ।

निश्चित छ– अहिलेको युद्ध मानिसले नै जित्छ तर कति क्षतिपछि ?

प्रतिकृया दिनुहोस