• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले उठाएको एउटा महत्वपूर्ण बहस

सनराइज सम्पादकीय

सनराइज सम्पादकीय

नयाँ विश्व व्यवस्था अब अपरिहार्य भएको छ । भौगोलिक साम्राज्यवाद्लाई केही मात्रामा गौण बनाएर आर्थिक साम्राज्यवाद्लाई प्रधानता दिँदै चलिरहेको वर्तमान विश्व व्यवस्थाले विश्वसामु आगामी दिनमा आउने चुनौती र संकट समाधान गर्न नसक्ने नै देखियो । यही परिप्रेक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ विश्व व्यवस्थामा जानुपर्ने अभिव्यक्ति दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट विश्व समुदायलाई दिनुभएको यो सन्देशको असाधारण महत्व छ । यो अभिव्यक्तिको दूरगामी प्रभाव पर्नेछ ।

कोरोना महामारीबाट विश्वसामु आएको चुनौतीले पूरानो विश्व व्यवस्थाको असफलता उदांगो पारिदिएको छ र नयाँ विश्व व्यवस्थाको अपरिहार्यतालाई झन् उजागर गरिदिएको छ । केही खास देशहरुको प्रत्यक्ष तथा परोक्ष नियन्त्रणमा रहेको संयुक्त राष्ट्रसंघ र त्यस अन्तर्गतका संस्थाहरु, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन तथा अन्य केही विश्व संस्थाहरु आज विश्वमा हावी छन् । उनीहरुले नै विश्वको नीति निर्माण गर्छन् । नीति निर्माण बलिया र सम्पन्न देशहरुको पक्षमा हुने गरेको छ । विश्वको साधन र स्रोतमा केही खास धनी देशहरुको नियन्त्रण बढ्दै गएको छ । धनी र शक्तिशाली देशका बहुराष्ट्रिय कम्पनीहरुले विश्व अर्थतन्त्रमा पकड बढाएको बढायै छन् । 

समानता भनेको कुनै एक देशभित्रका जनता माझ मात्र स्थापित गरिने विषय होइन । समानता भनेको विश्वभरीका मानिसमा लागू गरिनुपर्छ । विश्वभरीका मानिस बीच समानता स्थापित गर्ने मामिलामा पूरानो अर्थात् वर्तमान विश्व व्यवस्था असफल सिद्ध भइसकेको छ । वर्तमान विश्व व्यवस्थाले देशहरुबीच असमानतालाई बढावा दिएको छ । सम्पन्न र विपन्न देशबीचको असमानताको खाडल बढाइरहेको छ । विश्वमा एकथरी मानिस असीमित साधन स्रोतले सुसज्जित छन् । अर्काथरी मानिस जिविकोपार्जनका लागि संघर्ष गरिरहेका छन् । वर्तमान विश्व व्यवस्थाले विश्व मानवमा व्याप्त चरम असमानता हटाउन प्रयास गरेजस्तो गर्ने गरेको छ तर त्यस्तो प्रयास छद्म रुपमा असमानता बढाउने उद्देश्यले नै प्रेरित देखिन्छ ।

नेपाल सहित विश्वका विपन्न देशहरुको गरिबी र अविकासको एउटा ठूलो कारण वर्तमान विश्व व्यवस्था पनि हो । धनीलाई झन् धनी बनाउने र गरिबलाई बाँच्न नदिने ढाँचाको छ वर्तमान विश्व व्यवस्था । यसको प्रत्यक्ष मारमा विपन्न देशहरु परेका छन् । विश्वमा रहेको असमानताका कारण विपन्न देशहरुले जहिले पनि आन्तरिक संघर्ष, अस्थिरता र अराजकताको सिकार हुनुपर्ने अवस्था छ । धनी र शक्तिशाली देशहरुले विपन्न देशहरुमा सम्पन्नता निर्यात गर्नुपर्नेमा द्धन्द र असन्तोष निर्यात् गरिरहेका छन् । विपन्न देशहरुमा शक्तिशाली देशहरुले आफ्ना वैचारिक, सांस्कृतिक, भाषिक, धार्मिक लगायतका एजेण्डा लादिरहेका छन् । विपन्न देशहरुको इतिहास र पहिचानमाथि धावा बोलिरहेका छन् । मुख्य कुरा– वर्तमान विश्व व्यवस्थाले विपन्न देशहरुको भविष्य जोखिमपूर्ण बनाउँदै लगिरहेको छ ।

वर्तमान विश्व व्यवस्थाले सामरिक होडबाजी रोक्न सकेन । हतियारको होडबाजीलाई बढावा दियो । विज्ञान र प्रविधि तथा साधन स्रोतलाई हतियार उत्पादनमा केन्द्रीत गर्दै लग्यो । यस्तै विश्व व्यवस्था कायम रहिरहेमा विश्वले तेस्रो विश्वयुद्धको दुर्दान्त नियति भोग्नुपर्ने दिन आउन सक्छ ।

यहाँ प्रश्न उठ्छ– नयाँ विश्व व्यवस्था कस्तो हुनुपर्छ ? नयाँ विश्व व्यवस्था विश्वभरीका मानिस बीच समानताको प्रत्याभूति गर्ने, हतियारको होडबाजी अन्त्य गर्ने, सार्वभौम मुलुकहरुबीच समानतामा आधारित सम्बन्ध हुने प्रकृतिको हुनैपर्छ । यस बारेमा प्रधानमन्त्री ओलीले आगामी दिनमा थप विचार दिनुहुने अपेक्षा गर्न सकिन्छ । नयाँ विश्व व्यवस्थाको आवश्यकताबारे शित युद्धकालमै बैचारिक बहस सुरु भइसकेको थियो । सन् ९० को दशकमा विश्व एक ध्रुवीय बनेपछि नयाँ विश्व व्यवस्थाबारे बहस तिब्र बन्दै गएको हो, तथापी यस्तो बहस सानो घेरामा सीमित थियो । कोरोना महामारीले ल्याएको संकटपछि नयाँ विश्व व्यवस्थाको बहस विश्वव्यापी तथा आम नागरिकको तहमा आइपुगेको छ । प्रधानमन्त्री ओलीले जुन अभिव्यक्ति दिनुभएको छ, यसमा आधारित रहेर छलफललाई अगाडि बढाउँदै आगामी विश्व व्यवस्थाको स्वरुपलाई वैचारिक रुपमा स्पष्ट पार्दै लगिनुपर्छ ।
 

प्रतिकृया दिनुहोस