सत्तापक्षको यो गल्ती, जसले प्रतिनिधि सभालाई घाइते बनाउँदै छ
सत्तारुढ नेकपा नेतृत्वको अकर्मण्यताले प्रतिनिधि सभा घाइते भएको छ । भित्ते सूचनाको प्रहारबाट प्रतिनिधि सभालाई घाइते बनाइएको यो पहिलो पटक होइन । विगतमा पनि यसरी बैठक स्थगित गरिन्थ्यो । आज चाहिँ प्रसंग अलि फरक र गम्भीर छ । अरुबेला स्थगित गरिए जसरी आज प्रतिनिधि सभा बैठक स्थगित गरिएको होइन । आज अलि बढि नै घाइते भएको छ प्रतिनिधि सभा ।
सत्तारुढ दलको कमजोरीका कारण विरलै बैठक स्थगित हुन्छ । भित्तामा सूचना टाँसेर बैठक स्थगित गर्नुपर्ने परिवन्द प्रतिपक्षले सिर्जना गर्छ, सत्तापक्षले होइन । आज प्रतिनिधि सभा बैठक सत्तापक्षका कारण स्थगित भएको हो । सत्तारुढ दलका लागि यो शोभनीय काम होइन ।
सभामुख पद रिक्त भएको लामो समय भइसकेको छ । नेकपाले बेलैमा सभामुख पदका लागि उम्मेदवार छनौट गर्नुपर्थ्याे । निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि नेकपाकै थिए । जे कारणले उनले पद गुम्याे, त्यसबाट प्रतिनिधि सभा गम्भीर घाइते भइसकेको छ । नयाँ सभामुख बेलैमा चयन गरेर त्यो घाउमा मल्हम लगाउने जिम्मेवारी नेकपा नेतृत्वको थियो । यसमा नेकपा नेतृत्व नराम्रोसँग चुकेको छ ।
प्रतिनिधि सभा बैठक निरन्तर चलोस्, विधेयकहरुमा पर्याप्त छलफल होस् र पारित होस् भन्ने चाहना सत्तापक्षले राख्नुपर्छ । अधिवेशन आव्हान भइसकेपछि सदन निरन्तर सुसञ्चालनको बातावरण बनाउने जिम्मेवारी सत्तापक्षको हो । सदन चलाउन सबैभन्दा पहिले सभामुख चाहिन्छ भन्ने सत्तापक्षले नबुझेको हो र ? तैपनि किन बेलैमा सभामुख पदका लागि
उम्मेदवार खोजिएन ?
.jpg)
हुनत सभामुख चयन प्रतिनिधि सभाको दायित्व हो । दलका नेताहरुको बैठकले सभामुख चयन गर्ने होइन । तर, प्रकारान्तरले सबै निर्णय दलले नै गर्ने हो । दलले उम्मेदवार उपलब्ध गराएपछि मात्र प्रतिनिधि सभामा चुनाव सम्भव हुन्छ । बहुमत प्राप्त दल सभामुख चयनमा गम्भीर नभइदिँदा बैठक स्थगनको अवस्था आयो । यसो हुनु भनेको अकर्मण्यता नै हो ।
अहिले जे भए पनि ढिलोचाँडो सभामुख चयन हुने नै छ । तर, अब चयन हुने सभामुख सत्तारुढ पार्टीभित्रको विवाद र खिचातानीमा जितेर आएका पात्र हुन् भन्ने सन्देशले प्रतिनिधि सभाको मर्यादा तथा सभामुखको ओज एवं गरिमामा आँच पुग्न सक्छ । यतातिर नेकपा नेतृत्व गम्भीर नभएकै हो ।
प्रतिनिधि सभाको अबको सभामुख अत्यन्त योग्य, सक्षम र निष्कलंक हुनुपर्छ । हुनत सभामुख जहिले पनि निष्कलंक हुनैपर्छ तथापि जे कारणले सभामुख पद रिक्त भयो, त्यो कारणलाई दृष्टिगत गर्दा अबका सभामुखलाई अत्यन्त निष्पक्ष र सम्मानित बनाइनुपर्छ । यसो गरियो भने मात्र प्रतिनिधि सभालाई लागेको चोटमा मल्हम लाग्छ । यो पृष्ठभूमि बुझेका नेकपाका नेताहरुले बेलैमा सभामुखका उम्मेदवार चयन गर्नैपर्ने थियो । कमसेकम शुक्रबार बिहान भित्रमा उनीहरुले उम्मेदवार छान्नुपर्ने थियो ।
अन्य खाले पदहरुमा सहमति खोजेको शैलीमा सभामुख पदमा पनि सहमति खोजिँदा नेकपा चुकेको बुझ्न गाह्रो छैन । सभामुख पद विशेष प्रकारको हो । अन्य पदमा सहमति खोजेको शैलीमा सहमति खोजेर हुँदैनथ्यो र हुँदैन पनि । जो सभामुख बन्छ उ पार्टी र राजनीतिक उहापोहबाट माथि उठ्न सक्नुपर्छ । त्यस्तो पदमा बस्ने पात्र खोज्ने शैली ठिक भएन ।
आज जसरी बैठक स्थगित भएको छ, सभामुख चयनमा जुन गतिरोध देखिएको छ, यसमा प्रतिपक्षीलाई दोष दिने ठाउँ छैन । यसमा सम्पूर्ण दोष सत्तापक्षकै छ ।
सत्तापक्ष र प्रतिपक्षी दलहरुले सदनका बैठकहरु सुचारु गर्ने, निर्धारित बैठक स्थगित नगर्ने र चलेका बैठक अवरुद्ध नगर्ने प्रतिवद्धता गर्नुपर्छ । संघीय संसद् होस् या प्रदेश संसद्, कुनै पनि बैठक कहिल्यै पनि अवरुद्ध गरिन हुन्न । आज सूचना टाँस गरेर बैठक नै नबस्ने अवस्था ल्याउनु भनेको पनि एकप्रकारले अवरुद्ध गर्नु नै हो । यो अक्ष्यम्य काम हो ।
सत्तारुढ दलले तत्काल सभामुख चयनको ढोका खोलोस्, प्रतिनिधि सभालाई गतिशील बनाओस् । र, कहिल्यै पनि सूचना टाँस गरेर अथवा बैठकको कारवाही अवरुद्ध गरेर संसदीय गतिरोध सिर्जना नगर्ने प्रतिवद्धता सभामुख चुनावकै मौकामा सबै दलले गरुन् ।


प्रतिकृया दिनुहोस