नआत्तिनुस्, कोरोनालाई जितिन्छ, हामी बाँचिन्छ
अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको आतंक छ । यो आतंकको पृष्ठभूमिमा विश्व शक्तिहरुको राजनीतिक स्वार्थ पनि छ भन्ने बुझ्नुपर्छ ।
कोरोना फैलिएर स्थिति नियन्त्रण बाहिर जान्छ कि भनी धेरै मानिस चिन्तित देखिएका छन् । यस्तो डर, चिन्ता र आतंकको कुनै औचित्य छैन । किनभने कोरोना भाइरस लाग्दा मानिसको ज्यान जान्छ भन्ने छैन । कोरोना लागेका एक प्रतिशत भन्दा केही बढी मानिसको मात्र ज्यान जाने गरेको छ ।
चीनमा सुरुमा कोरोना फैलनासाथ रोगबारे थाहा नभएर कतिपय मानिसको ज्यान गयो । अब रोगबारे जानकारी भइसकेको छ । त्यसैले अब एक प्रतिशत मानिसको पनि ज्यान जाँदैन भन्ने दावी विज्ञहरुले गरिरहेका छन् । विश्वमा विभिन्न प्रकारका भाइरस अस्तित्वमा छन्, अनेक प्रकारका रोग छन् । कोरोनाको संक्रमण अति खतरनाक कोटीमा पर्दैन ।
नेपालमा अहिलेसम्म एक जनामा मात्र कोरोना देखिएको छ । सामान्य उपचारबाट उनी ठिक भए । त्यसकारण आत्तिन पर्दैन ।
कोरोना लागेपछि सबै मानिस सिकिस्त हुन्छन् भन्ने पनि छैन । सामान्य उपचारले पनि ठिक हुन सक्छन् । व्यक्तिलाई पहिले रोग केके छ, स्वास्थ्य अवस्था के छ र उमेर कति छ भन्नेले धेरै कुरा निर्धारण गर्छ । बालबालिका, गर्भवती तथा वृद्धवृद्धाका लागि जुनसुकै रोग खतरापूर्ण हुन्छ । कोरोनाको हकमा पनि यही हो ।
हरेक रोग खतरनाक हुन्छ, त्यस अर्थमा कोरोना पनि खतरनाक नै हो । तर, त्यति खतरनाक होइन कि यसबाट आतंकित नै बन्न परोस् । विश्वमा र नेपालमा पनि कोरोनाका नाममा जुन त्राश फैलिएको छ, यो मानसिव छैन । के बुझौं भने आगामी दिनमा यस्ता अनेक रोग फैलन सक्छ, यो भन्दा खतरनाक भाइरस फैलन सक्छ ।
जलवायु परिवर्तन, वातावरण प्रदूषण र पर्यावरणीय चक्रका कारण विभिन्न भाइरस निमिट्यान्न हुन्छन्, नयाँ नयाँ भाइरस उत्पन्न हुन्छन् । पृथ्वीमा बसेपछि यी सबै समस्या झेल्नै पर्छ ।
मानव समाजले अतितमा विकराल महामारीहरु झेलिसकेको छ । त्यसको तुलनामा कोरोना भाइरस केही पनि होइन । विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण स्वास्थ्य संकटकाल घोषणा गरेको छ । गत एक दशकमा यस्तो संकटकाल पाँच पटक घोषणा गरिएको छ । एच वन एन वन भाइरस फैलँदा २००९ मा, पोलियो फेरि फैलन थालेपछि २०१४ मा र सोही वर्ष इबोला भाइरसका कारण संकटकाल घोषणा गरिएको थियो । कोरोनाभन्दा खतरनाक थिए इबोला र एच वन एन वन । ती भाइरसको संक्रमणले हुने मृत्युदर पनि धेरै थियो ।
कोरोना भाइरसका कारण फैलिएको विश्वव्यापी आतंकमा राजनीति पनि मिसिएको छ । चीनमा कोरोना फैलिएपछि स्वास्थ्य संकटकाल घोषणा गर्न अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दवाब दियो । तर, चीनले भने संकटकाल घोषणा गर्न आवश्यक छैन भन्यो । अन्तत संकटकाल घोषणा गरियो । चीनको अर्थतन्त्रलाई असर गरोस् भन्ने मनसाय साथ अमेरिकाले संगठनलाई दवाब दिएको बुझ्न गाह्रो छैन ।
चीनबाट सुरु नभएर अन्य कुनै देशबाट कोरोना सुरु भएको थियो भने शायद यति चर्चा हुने थिएन, यति आतंक पनि फैलने थिएन ।
त्यसैले,
कोरोनासँग डराउने होइन होशियार हुने हो । कोरोना जस्ता महामारी भविष्यमा पनि आउन सक्छ । त्यसैले कोरोनाबाट पाठ सिकेर स्वास्थ्य र सरसफाईमा सजगता अपनाइनुपर्छ । नेपाल सरकारले यस्ता विपत नेपालमा पनि भित्रन सक्छ, आज नभित्रिए भविष्यमा कुनै दिन भित्रन सक्छ भन्ने तथ्यवोध गरेर त्यही अनुरुप आवश्यक तयारी थाल्नुपर्छ ।
महाभयंकर र विकराल महामारीहरुलाई पचाउँदै, झेल्दै र पराजित गर्दै मानव सभ्यता यो अवस्थासम्म आइपुगेको हो । कोरोना पनि सजिलै पराजित हुनेछ । तर, यसका लागि हरेक मानिसले सजगता भने अपनाउनुपर्छ ।
सुखद कुरा के भने कोरोनाको प्रसारण गति धिमा छ । यसलाई सबै देश मिलेर नियन्त्रण गरिरहेका छन् । धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । त्यसैले डराउन र तर्सन जरुरी छैन । कोरोनालाई जितिन्छ, हामी बाँचिन्छ भन्ने आत्मविश्वाश सबैमा जगाऔं ।


प्रतिकृया दिनुहोस