प्रहरी महानिरीक्षक कार्कीद्वारा ४४ जना पदोन्नतिप्राप्त प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीका विभिन्न तहमा पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा आईजीपी कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। सरकारको २०८३ जेठ २१ गतेको निर्णयअनुसार जनपदतर्फ १ जना र प्राविधिकतर्फ ३ जना गरी कुल ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका थिए। त्यस्तै, गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जनपदतर्फ १ जना र प्राविधिकतर्फ १२ जना गरी १३ जना प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका छन्।
यसैगरी, १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र १४ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) समेत पदोन्नतिमा परेका छन्। विभिन्न तहमा पदोन्नति भएका कुल ४७ जना अधिकृतमध्ये ४४ जना समारोहमा उपस्थित भई दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए। बाँकी ३ जना अधिकृत भने तालिमका सिलसिलामा कोरियामा रहेका कारण कार्यक्रममा सहभागी हुन नसकेको जनाइएको छ।
समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले पदोन्नति प्राप्त सबै अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै जिम्मेवारी पनि बढ्ने बताए। उनले कार्यक्षेत्रमा प्रदर्शन गरेको लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा तथा सेवाप्रतिको समर्पणको मूल्याङ्कनका आधारमा पदोन्नति गरिएको उल्लेख गरे।
उनले संगठनप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्न, सेवाग्राहीमैत्री व्यवहार अपनाउन तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्न अधिकृतहरूलाई आग्रह गरे। पदोन्नतिपछि अझ सिर्जनशील, जवाफदेही र संवेदनशील ढंगले कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।
पदोन्नतिप्राप्त अधिकृतहरूको तर्फबाट मन्तव्य राख्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंह ले संगठनले दिएको जिम्मेवारीलाई पूर्ण निष्ठा र समर्पणका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल प्रहरीको लक्ष्य तथा उद्देश्य हासिल गर्न अझ प्रभावकारी र परिणाममुखी ढंगले काम गर्ने बताए।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अन्य प्रहरी कर्मचारी तथा जवानहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहले पदोन्नतिप्राप्त अधिकृतहरूलाई नयाँ जिम्मेवारीप्रति प्रेरित गर्नुका साथै संगठनभित्र व्यावसायिक मनोबल अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


प्रतिकृया दिनुहोस